म हेरिरहेंछु यो देशको परिवर्तन
तिमी हेर्दै हौला देशको परिवर्तन
र ऊ हो ऊ पनि त हेर्दो होला परिवर्तन
र हेरिरहेछौं हामी सबै सधैको परिवर्तन
म देखिरहेंछु परिवर्तन र विकास
तिमी पनि देखिरहेछौ परिवर्तन र विकास
उसले पनि देखिरहेछ विकास र परिवर्तन
जसरी मैले र तिमीले देखिरहेछौं
यौटा अचम्मको परिवर्तन
अर्को अचम्मको विकास !
जताततै विकास र परिवर्तन !
चिरकालदेखि मनमा सजाएको विकास
ऊ, तिमी र हामीले ल्याएको परिवर्तन !
वर्तमान नियालेर हेर्दा पनि देख्छु
अतीतलाई नियालेर हेर्दा पनि देख्छु
देशमा विकासै विकास भएको देख्छु
जताततै परिवर्तन मात्र भएको देख्छु
लामका लाम मान्छे जन्मिरहेछ
ठामका ठाम मान्छे मरिरहेछ ।
जताततै बधाई र शुभकामनाका
श्रद्धाञ्जली र समवेदनाका लाम
जतासुकै विकास र परिवर्तनका लाम,
छन त अरू पनि भएका छन् परिवर्तन
हुन त अरू पनि भएको छ विकास
तर मलाई, त्यसको त्यत्ति ज्ञान छैन
तिमीलाई त्यसको त्यत्ति पर्वाह छैन,
शायद, अरू धेरै धेरै नागरिकलाई छैन
आभास केही मन्त्रीहरूलाई होला
केही भद्र माफियाहरूलाई होला
केही भ्रष्ट, कामचोरहरूलाई होला
केही पत्रकार, शिक्षक, प्राध्यापकहरूलाई
केही चौकी चलाउने बिचौलियाहरूलाई होला
होला र त, भनसुने कक्षा उत्तीर्ण गरेर
विद्यावारिधि र परिचयका वैतरणी तरेर
वारिधि तर्ने सीप देखाउँदैछन् प्राध्यापकहरू
कुर्सी पोलेर प्रज्ञा प्रदर्शन गर्दैछन्
ताला लाएर ढोकामा प्रहसन गर्दैछन्
लाग्छ खोला हो, सजिलै तर्छन्,
आफ्नै पाइला हो सजिलै चाल्छन्,
कार्यालयमा अलिकति कुर्सी ढाल्छन्,
सडकमा अलिकति टायर बाल्छन्
सीमा रेखा नाघेर केहीले ढुङ्गा फाल्छन्
विधान बनाउन जानेहरूले जसरी ढाल्छन्
देश बनाउन चाहनेहरूले जसरी बाल्छन्
पहिचान खोज्नेहरूले जसरी फाल्छन्
विद्वानहरूले त्यही बाटो पाइला चाल्छन्
यसरी नै वर्षौंदेखि देशमा, समाजमा
जताततै परिवर्तनका बाढी आइरहेछन्
विकासका भूकम्प र पहिराहरू चलिरहेछन्
हामी तिनलाई हेरेर दङ्ग परिरहेछौं ।
अदालतमा आएको परिवर्तन हेर्यौं
अख्तियारमा आएको परिवर्तन हेर्यौंज
विधान, ऐनमा आएका परिवर्तन हेर्यौं्
विद्यालय, विश्वविद्यालयमा आएका परिवर्तन हेर्यौं
अब हेर्दैछौ,
बाटाघाटा, पुलेसामा आएका परिवर्तन
व्यक्ति, समाज र देशमा आएका परिवर्तन
राष्ट्र र राष्ट्रियताको भावमा आएका परिवर्तन
मान्छेका पेशामा, प्रज्ञामा आएका परिवर्तन
हरक्षेत्रमा आएको परिवर्तन जल्दोबल्दो छ
हरक्षेत्रमा चलेको विकास फल्दो फुल्दो छ
यो अब अझ राम्ररी फुल्छ, फल्छ र बढ्छ
कुन दिन पाकेर झर्छ र हाम्रो मुखमा पर्छ ?
२९ साउन २०७७
पाल्पा, हाल काठमाण्डौं ३२ मनोहरवस्ती