Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

राधा पौडेलका दुई तीज गीत

राधा पौडेलका दुई तीज गीत

नेप्लिज डायस्पोरा

२, भाद्र २०७७
images
राधा पौडेलका दुई तीज गीत



शीर्षक : आफ्नै पालो आउने हो कि भन्ने डर छ ।

तीज आयो दिदि बैनी नाच्ने गाउने धोको छ ।
कोरोनाको आतंकले मनै रोको छ ।
सन्सार नै ढालिसक्यो मान्छे मर्छन छिनमा
कस्तो गीत गाउने होला यस्तो दिनमा
कतै जान पाउनु छैन नाकाबन्दी भाको छ
बैज्ञानिकले हार खांदा डर लाको छ ।
माइती देशमा छोएको खबर गरे साथिले
उता पनि पिरोलेछ यहि पापिले
उपचार केहि छैन ईस्वर कै भर छ
आफ्नै पालो आउने हो कि ? भन्ने डर छ
साथीभाइ मरिसके कोरोनाले छोएर
घर आइज भन्नुहुन्छ आमा रोएर
कसो गरि आउनु आमा लाशै माथि टेकेर
छोरा छोरी रुंदै आउँछन् बाटाे छेकेर
जां बसे नि हात धोई बसौं होश गरेर
भिड भाडमा नजानु अघि सरेर
नाक मुख छोप्ने गरौं बाहिर तिर जांदामा
ताजा सफा रोजौं है खाना खांदामा
दुरी कायम गरेर होश गरि बांच्ने हो
अर्को साल दिदि बैनी फेरि नाच्ने हो ।

 

शिर्षक : धोको मेटाैंला


घुमी घुमी चाड आयो बर्षदिन गनेर
माइत जान पाइएन तीज भनेर
दिन रात काम गर्‍यो अन्त ध्यान लैएन ।
त्यै हुनाले चाडबाड पनि मान्न पाइएन ।
वर पर रातो सारी दिदिबहिनी देख्दै छु
ऐले माइती सम्झिएर गीत लेख्दै छु ।
तगरीमा आउलिन आमा छोरी आइ कि भनेर
कति बर्ष बित्यो होला दिन गनेर
बुढा भए बाबा आमा बाहिर गए साथीभाइ
नरमाइलो भयो तीज हाम्री आमालाई
नौलो देश ,नौलो भाषा नौलै छ नि चलन
सम्झिएर ल्याउदा मन हुन्छ जलन
स्वदेशमा जाउं त भने केटाकेटी स्कुल
बाबा आमा यता ल्याउन झनै मुस्किल
बिदेशमा भासिनाले नाता गोता तिडियो
छोरा छोरी भन्दा भन्दै माइती छोडियो
अहिले साल यस्तै भयो अर्को साल भेटाैंला
रमाएर माइत जाने धोको मेटाैंला ।

(यी गीतहरु रचना गर्ने राधा पौडेलले नेपालमा हुँदा पनि तीजका गीतका पुस्तकहरु प्रकाशन गरिसक्नु भएको छ। उहाँले कविता र लेखहरु पनि लेख्ने गर्नुहुन्छ। उहाँ एनआरएनए अमेरिकाको हाल सल्लाहकार हुनुहुन्छ। नेपालदेखि नै बिभिन्न सामाजिक संघसंस्थामा नेतृत्व गरेर आउनु भएकी पौडेल एनआरएनए अमेरिकामा स्थापनाकालदेखि निरन्तर सक्रिय हुनुहुन्छ। -सम्पादक।)

images
प्रकाशित मिति :भाद्र २, २०७७ मंगलवार - ०५:०९:१२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend