बा ! तिमी छैनौ
न छ तिम्रो एउटा फोटो
छ त केवल तिम्ले टेक्ने त्यो लौरो
जस्ले डोरयाइरहेछ मलाई
आजसम्म
जब तिमी
दिनभरी भारी बोकेर
साँझ घर फर्किन्थ्यौ
आँगनको डिलभन्दा परैबाट
तिम्ले टेक्ने लौरोको आवाज आउँथ्यो
तब लाग्थ्यो मेरा बा घर आए
पिँढी माथिको दलिनमा
लौरो सिउरिनुभन्दा पहिले
ढोकाको संघार नाघ्नुभन्दा अघि
तिम्रो आँङ्गको अमिलो पसिनाको गन्ध
मेरो नाकसम्म आइपुग्थ्यो
तब लाग्थ्यो
मेरा बा घर आए
तिम्ले बिसाएको मनको गरुङ्गो भारी
थकाइको त्यो लामो सुस्केरा
मेरा कानसम्म आइपुग्थ्यो
तब लाग्थ्यो
मेरा बा घर आए
तिमी घर फर्कन्थ्यौ भरोसा फर्कन्थ्यो
तिमी घर फर्कन्थ्यौ , हाम्रो पेट्ले दशैँ मनाउँथ्यौ
तिमी घर फर्किन्थ्यौ आमाको मुहार खुल्थ्यो
पुष माघको जाडोमा
पटपटी फुटेका कुर्कुच्चा ,
हातभरी उठेका ठेला अगेनोमा देखाएर
आमासँग दु:ख बिसाउन
भ्याउँदा नभ्याउँदै सोध्थ्यौ मलाई
आज स्कुल गइस छोरा ?
मैले " गएँ ।" भन्थे
जब " स्कुल जान्न !" भनेको
त्यो दिन सम्झन्छु
तिम्रो त्यो लौरो नै सम्झन्छु
खुट्टाका पिडौलामा उठेको
मासुको डल्लो सम्झन्छु
सम्झन्छु म लडेको त्यो आँगन
जहाँ एउटा खुट्टा खोच्याउँदा खोच्याउँदै
स्कुल पुगेको त्यो दिन सम्झन्छु
यस्तो भन्थे मनमनै तिम्लाई
यो बुढाको लौरो भाचिँएला कैले ?
तर बा !
जब तिमी हरायौ
नाम्लोले पिङ्ग खेल्न शुरू गर्यो
मेरो थाप्लोमा
गरुङ्गो भारीले बलले थिच्यो
मेरो पिठ्यूँमा
अनि सम्झिएँ तिम्लाई
यस्तो लाग्थ्यो
तिमी फेरि एक पटक आइदिए हुन्थ्यो
र सकेको बजाइदिए हुन्थ्यो
मेरा खुट्टामा
हो बा ! त्यसैले
तिमी छैनौ न छ तिम्रो एउटा फोटो
छ त केवल तिम्ले टेक्ने लौरो
जस्ले डोर्याइरहेछ मलाई
आजसम्म !!
(समाप्त)
- तानसेन -७ बर्तुङ्ग, पाल्पा ।
२०७७ असार १८