भो नओढाऊ मलाई तिम्रो झण्डा
मलाई त्यत्ति साह्रै जाडो भएको छैन
जाडो लागेर थर्थरी काँपेको पनि छैन
र त तिम्रो झण्डा चाहिएको पनि छैन।
भोकले बनाएको मेरो यो लाशले
बरु कतै कसैको भोक टार्न सक्छ
शोकले बनाएको मेरो यो लाशले
कतै कसैको शोकलाई दार्न सक्छ !
त्यत्रो क्रान्तिको रगतले रँगिएको त्यो झण्डा
लोकतन्त्रको हावामा हल्लिएको त्यो झण्डा
हामी जस्ता भोकले मर्नेहरूका लाशमा सुहाउन्न
भो, त्यति प्यारो झण्डा मलाई ओढाउन पनि हुन्न
त्यसै पनि भदौको यो उखर्माउलो गर्मीमा
तिम्रो त्यो न्यानो झण्डाको दरकार छैन
भोका- नाङ्गा र गरीब-निमुखाको लाशमा
त्यसै पनि यस्तो झण्डा सुहाउने कुरै छैन
भोक सहनै नसकेर मरेको यो लाश
शोक सहनै नसकेर मरेको यो लाश
रोग सहनै नसकेर मरेको यो लाश
कसरी ओढ्न सुहाउँछ तिम्रो झण्डा ?
न्यायका लागि उठेको तिम्रो रङ्गीन झण्डा
राष्ट्रको गौरव बढाउने गरेको सङ्गीन झण्डा
त्यस्तो झण्डा त
तिमी जस्तै क्रान्तिकारीलाई नै सुहाउँछ
गणतन्त्र, लोकतन्त्रवादीलाई नै सुहाउँछ
त्यसले तिनकै र तिम्रै महिमा मण्डित गर्छ
र तिम्रै योगदान बताउँछ,तिनकै गौरव बढाउँछ
बरु भन त
मेरो यो लाशमा यस्तो झण्डा ओढाउन
तिमीलाई कसले, कसरी, किन लगाउँछ ?
तिमी आफै विचार गरेर हेर अनि भन
के यो झण्डा मेरो लाशमा ओढाउन सुहाउँछ ?
पर्ख, विचार गर, यसको आफ्नै गौरव छ
जसरी तिम्रो पार्टीको महिमा छ, गौरव छ,
तिम्रो क्रान्तिको, बलिदानको गौरव छ
अनि यो, यस्तो गौरवको झण्डा
मेरा जस्ता लाशमा ओढाउन सुहाउँछ?
त्यसैले म विचार गर्दैछु,
र त म आफै अघि सरेर भन्दैछु
म तिम्रो यो गौरवमय झण्डा ओढ्दिन
तिमीले मलाई झण्डा ओढाएनौ पनि भन्दिन,
बरु म त यसो मात्र भन्छु -
-‘भो नओढाऊ तिम्रो झण्डा,
मलाई कतै जाडो भएको छैन
त्यो मेरो आवश्यकता पनि हैन,
तिमीले ओढाउने त्यो तिम्रो झण्डा
मलाई ओढाउन सुहाउँदा पनि सुहाउन्न।
नसुहाउने कुरा ओढ्ने चाह पनि कसैको हुन्न,
पाल्पा ,
हाल काठमाण्डौं-३२, मनोहरवस्ती