मलाई जन्मदिने मेरा बा
मरो जन्म हुने बित्तिकै गाऊँभरि
मिठाई बाँड्ने मेरा बा
मलाई आमाको काखमा
दुध चुस्दै गरेको हेरेर
मुसुमुसु हाँस्ने मेरा बा
म हिँड्न लाग्दा मेरो धङ्गधङ्गिमा
आडेस दिने मेरा बा
मलाई चोरी औँलाको सहाराले
ताते ताते गराउने र मलाई लडेपछि
उठ्न सिकाउने मेरा बा
कति जाति मेरा सरल र
सिधा बा।
म बिमारी पर्दा छातीमा टाँसेर
रातभरि जागा बस्ने मेरा बा
मेरा रोइ रहेका परेली पुछेर
के भो बाबु? भनेर सोध्ने मेरा बा
मलाई कँधेर खुट्टी हालेर
मावल पुराउने
गाउँभरि डुलाएर
मेरो सन्सार चिनाउने मेरा बा
मलाई डटेर आफ्नो हकका लागि
लड्न सकाउने
धेरै पढेर ठूलो मान्छे बन्नु
भन्ने प्रेरणा दिने र मलाई
झोला बोकाएर स्कूल पठाउने
मेरा बा
बहादुर र मेहनती मेरा बा
बिहानै काममा जाने
राती अबेर पसिनै पसिना भएर घर फर्कने
जति थाके पनि मलाई काखमा खेलाउने
त्यो मीठो पसिनाको बास मार्दै
मीठो बसाउने मेरा बा
मेरा सानातिना गल्तीहरू
सच्याएर आमालाई खुशी पारी दिने
अगेनोमा कुँडेभरिको दुध
म अघाएपछि बल्ल ठेकामा
खनाउने मेरा जाति बा
म कम्जोर भएको बेला
दुःख नमान छोरा
म छु नि! भनेर मलाई ढाडस् दिने
मेरा बा
मेरो अगाडि सधैँ
मुस्काई रहने मेरो खुशीलाई
आफ्नै खुशी ठान्ने मेरा बा
मेरो टाउको सुमसुम्याएर
तिमीलाई कस्तो छ छोरा?
भनेर सोध्ने मेरा बा
के भनूँ म तिमीलाई!
मलाई थाहा छ मैले
कहिले तिम्रो ऋण तिर्न सक्दिन
तर तिम्रो मुहारमा त्यो मुस्कान
सँधै देख्न चाहान्छु बा!
सधैँ देख्न चाहान्छु।
पर्वत नेपाल
हाल बस्टन, अमेरिका
बाप्रति समर्पित हेर्नै पर्ने भिडियो कविता