हजारौं वर्षदेखि
जातको क्वारनटिनमा बस्दै गर्दा
कतिखेर-कतिखेर "विराट पुरुष "को पाइताला
अलिकति चलेजस्तो लाग्छ
यसरी उसको पाइताला चल्दा
कतिखेर -कतिखेर
अलि सजिलो गरि स्वास फेर्न मिल्छ
त कतिखेर-कतिखेर
प्राण नै फुत्किएलाजस्तो गरि गाह्रो हुन्छ
सोँच्छु-
मेरो निम्ति मात्रै किन
यो जातको क्वारन्टिन बनाइएको होला ?
मलाई मात्रै किन समाजबाट अलग्याइएको होला ?
जीवनभर किन यो क्वारन्टिनमा बस्नुपर्ने होला म ?
आखिर म जन्मनुअघिदेखि नै
तम्तयार छ- म बाँच्नुपर्ने जातको क्वारन्टिन
अरुलाई नछोइकनै म नाच्नुपर्ने जातको क्वारन्टिन
लाग्छ- मेरो जन्मपूर्व नै
मेरो धर्मले मलाई "कोरोना संक्रमित " बनाएर
पृथ्वीमा पठाएको छ
म स्वस्थ छु
कसैलाई मैले छुँदैमा कोरोना सर्दैन
मैले छोएको खाँदैमा कोही अकालमै मर्दैन
नपत्याए मेरो पिसिआर टेस्ट गरियोस्
र, रिपोर्ट हेरियोस्
अनि यो जातको क्वारन्टिनबाट मलाई
सदासदाका निम्ति बिदा गरियोस्
तर थाहा छैन खोइ कुन्नी किन हो
मलाई जबर्जस्ती जातको क्वारन्टिनमा राखिएको छ
यसो हेर्छु-
"विराट पुरुषका" पाइला टक्क रोकिएका छन
" शूद्र " का टाउका तिनकै चरणमा ठोकिएका छन
र, तिनका निधारको कति भाग्य मेटिएका छन
हे विराट पुरुष
अब तपाईं हिँड्नुपर्यो
तपाईंले पाइला चालेपछि नै
मैले कतै राम्ररी स्वास फेर्न पाउँछु कि?
अलि पर पुगेपछि न्यायपूर्ण समाज हेर्न पाउँछु कि?
तर ख्याल राख्नुहोला महोदय
यदि हजुर पाइला चाल्नु हुन्न र
जातको क्वारन्टिनबाट निस्कन यदि पाउन्न म भने
तपाईंलाई " आइसोलेसन" मा राखेर
"उपचार" गर्नुपर्ने हुन्छ
मानवताको अलिकति प्राणवायु भर्नुपर्ने हुन्छ
अन्यथा जातको क्वारन्टिनकै कारण
तपाईं अकालमै मर्नुपर्ने हुन्छ
र वर्णाश्रम- किटाणुकै कारण तपाईं सड्नुपर्ने हुन्छ