बाँदरलाई पुच्छर आवश्यक छ रे
त्यसैले लामो पुच्छर छ उसको
जुन जनावरको पुच्छर छ
उसले नै चलाउँछ पुच्छर
किनकी
पुच्छर उसैको हो
र पुच्छर उसको अभिन्न आवश्यक अङ्ग हो
तर
मान्छेमा उहिले नै हराएको हो पुच्छर
कारण
मान्छे उभिन थालेपछि
कुनै काम भएन पुच्छरको
आजकाल
माथितिर बडेमानको टाउको हल्लिँदा
क्रमश ढाड, खुट्टा हल्लिनु पर्ने हो
अचम्म नभएका पुच्छर पो हल्लिन्छ त
अझै ठूलो तामझाम हुन्छ पुच्छरको
कुकुरले त पुच्छर टाङ्गमुनी पो छिराउँछ
अचम्म
यहाँ त पुच्छरहरू नै टाउको झैँ पो गर्छन्
टाउको भन्दा जान्ने जस्तो पो गर्छन्
होइन, मान्छेको शरीरमा त पुच्छर उहिले नै लोप भएको हो
फेरि कसरी पलाएछ पुच्छर ?
रडाको पो मच्चाउँछन् पुच्छरहरूले !
टाउको आँ मात्र के गर्या हुन्छ
पुच्छरहरूले आशय बुझिहाल्छन्
मालिक भक्तिभाव देखाइहाल्छन्
किनकी
उनीहरू मार्क्सलाई पढ्न भ्याउँदैनन नि त
कतै रोबोट जस्ता पो भए कि ?
मानव जातीमा हराएका
तर जिउँदो जाग्दो भएका पुच्छरहरू
सायद लोप भैसकेकाले होला
नभएको पुच्छर देखाउन
ज्यादै बल गर्नु पर्ने भएर होला
पुच्छरहरू बुरुक-बुरुक गर्छन्
बिडम्बना माथी टाउकोले आशय फेर्यो भने
ट्वाँ पर्छन् पुच्छरहरू
आखिर विज्ञानले पनि भनेको छ
आवश्यक नभएर नै मानव जातीमा पुच्छर लोप भएको हो
नभएको पुच्छर छ भनेर बुर्कुसी मार्नेहरू
एकछिनको र्याइर्याइ त मच्चाउला
तर खासमा बत्ती बालेर खोज्दा पनि
पुच्छरको अस्तित्व भेटिने छैन
त्यसैले
मान्छेलाई पुच्छर बन्न सुहाउँदैन
अर्काको टाउको हेरेर
हुँदै नभएको पुच्छर
हल्लाउन बन्द गरिदेऊ
- रिब्दिकोट -३, पाल्पा ।