**********
स्वाभिमानी देशको स्वावलम्बीय कदमहरूमा
उट्पटाङ्गका कुरा तेर्साएर
जनमानसमा व्यर्थका अफवाह फैलाउने
हो म देश को गद्दार हुँ ।
भल बाड़ी हावा हुरी भूकम्प
अनेकौ प्राकृतिक प्रकोपहरू
जीउने अनेक रहर भएर पनि
अकाल मृत्यु भएका ती निर्दोष
बेवारिस लाशहरु
हाहाकार र चित्कारले गुञ्जायमान आकाश
यसबेला प्राप्त हुने सरकारी राहत
अनेक बहानाले सुटुक्क गरि
आफ्नै भण्डार भरेर
जन मानसमा अन्योलता भरेर
आफू नूनको सोझो हुन खोज्ने
हो म देश को गद्दार हुँ ।
सीमानामा हरदम खटी रहने
देखिरहन्छु म सिपाहीहरू
मेरै एक रातको मीठा सपना दिलाउनेहरू
मेरै निम्ति छातीमा गोली खाएर
शहीद बन्दछन्
अनि म उनै वीर सिपाहीका परिवारमा
अधिकारका कुरा गर्दै
उनीहरूकै अधिकार हनन गर्न खोज्ने
हो म देशको गद्दार हुँ ।
मेरा देशका कतिपय गुप्ती कुराहरू
गोप्य योजना र महत्वपूर्ण कदमहरू
म मेरो सानो झोपड़ीभित्र
अन्तरजालका तानाबाना मिलाउँदै
सामाजिक सञ्जाल माध्यम बनाउँदै
देश विदेशभरी साझा गरी
म मेरै देशको अस्तित्वसँग खेलवाड गर्दै
म बदनाम गर्न लागि परेको
हो म देशको गद्दार हुँ ।
पहाड़ पाखा र कन्दरादेखी बग्दै बग्दै
हिमालहरुको हार बनेर
सजिएका सुन्दर यी खोला नाला झरना र नदीहरू
यी वन्य सम्पदाहरू
म रम्न सकिन यी सुन्दरताहरूमा
यसैले त नित्य म बाँध हालेर
यी निर्मल चञ्चल जल परिधिलाई
सधै धमिल्याउन चाहने
हो म देश को गद्दार हुँ ।
मेरा बाबाले देखाउनुभएका
पसिनाका मूल्यहरू अनि
आमाले सिकाउनु भएका
संस्कारका बिषयवस्तु पर पन्साएर
भौतिक सुख सम्पदामा रम्न हिंड़दै
पश्चिमी सभ्यता अप्नाएर
मेरा पौराणिक मान्यतालाई
उपहास गर्ने म
हो म देश को गद्दार हुँ ।
आऊ मलाई समाऊ
ए सभ्य मानव
म मेरा गल्तीहरु स्वीकार्न चाहन्छु
देऊ दण्ड मलाई देशद्रोहको
देऊ फाँसी मलाई
किनकी
म देश को गद्दार हुँ ।
**********
- रुम्तेक सिक्किम, भारत ।
सतीश चापागाईंको चर्चित कविता "विमानस्थलमा बा !"