Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

घोषणा (लघुकथा)- बैद्यनाथ ठाकुर

घोषणा (लघुकथा)- बैद्यनाथ ठाकुर

नेप्लिज डायस्पोरा

१६, भाद्र २०७७
images
घोषणा  (लघुकथा)- बैद्यनाथ ठाकुर


झण्डै दुई सातादेखि उच्च जातिका गम्भीर छलफल चल्दै थिए । जति गरे पनि समस्या समाधानको उपाय फेला परेको थिएन । अन्तमा झण्डै पाँच हजार सहभागी प्रतिनिधिहरू बीच सभापतिले एउटा विकल्प निर्णयार्थ पेश गरे ।


प्रस्ताव सुन्ने बित्तिकै सहभागीहरूले होहल्ला गर्नथाले । भएभरका कुर्सी, टेबुल र माइक समेत तोडफोड हुने अवस्था उत्पन्न भयो । केही बेरपछि बडो मुश्किलले अवस्था अलि शान्त गराइयो र सभापतिले माइक सम्हाल्दै भन्नूभयो-


"तपाईंहरू कुरै नबुझी आवेगमा आउनुभयो । यो तरिका ठिक होइन । आखिर मैले राखेको प्रस्तावमा तपाईंहरूले शान्तिपूर्वक छलफल गरे भइहालथ्यो नि ।"


सभापतिको कुरा बीचमै काट्दै एक प्रतिनिधिले आफ्नो आक्रोश पोखे - " ठिक छ तपाईले भन्नू भएको कुरासँग म सहमत छु । समाजमा हाम्रो इमेज धेरै बिग्रेको छ । पहिले मानिसहरू हामीलाई देउता वा देवदूत नै ठान्थे तर अहिले त्यसको ठिक उल्टो धारणा हामीप्रति छ ।


यसको मतलव तपाईंले राखेको प्रस्ताव - जाडो होस् वा गर्मी , हामी सधैं एकाबिहानै सूर्योदय हुनुपूर्व अझै पनि नुहाउने कुरा ठिक होइन ।

सार्वजनिक रुपमा मदिरापान नगर्ने, जुवातास नखेल्ने, माछा मासु नखाने तर शाकाहारी भोजन गर्ने, कण्ठी-चन्दन तिलक लगाउने, पूजापाठ गर्ने, झुठो न बोल्ने अादि कुराहरू अब सम्भव नै छैन । सय दुई सय दक्षिणाको लोभमा हामी यति ठूलो त्याग गर्न सक्दैनौ । यसर्थ तपाईको घोषणा हामी मान्दैनौ ।"


यसपछि हल तालीले गुञ्जायमान भयो ।


सभापति फेरि बडो बिनम्र भएर दुई हात जोड्दै भने -
" हेर्नुस्, तपाईं हामी सबैको एउटै भावना र विचार छ । कत्ति पनि फरक छैन । तर बुझाइमा मात्रै समस्या छ । हाम्रो देशमा जाती प्रथा, छुवाछुत, दाइजो, भ्रष्टाचार, मिलावट, विभेद, शोषण अादि अब उपरान्त गर्न नपाउने घोषणा राणाकालदेखि गणतन्त्रसम्म भएको हो कि होइन ? तर कुन चाही घोषणा कसैले मानेको देख्नु भएको छ । अरू त अरू घोषणा गर्नेहरूले कहिले त्यसलाई आफूमाथि कार्यान्वयन गरेको छ ?


" हेर्नुस् घोषणाको स्वभाव हुन्छ आकर्षक । हामीलाई हाम्रो घोषणले पुरानो इज्जत फर्काउँछ । अनि त्यसपछि मान्ने न मान्ने हाम्रै हातमा छ ।"
सभापतिको कुरा सुनिसकेपछि हल एकचोटी फेरि तालीले गुञ्जायमान भयो र सर्वसम्मतले प्रस्ताव पारित गर्यो ।


- प्रगतिनगर -३, वीरगन्ज
२०७६ भदौ ०६

images
प्रकाशित मिति :भाद्र १६, २०७७ मंगलवार - ०३:२६:०६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend