"आज तेरो जन्म दिन ! ह्याप्पी बर्थडे टु .....!"
उसले चलनचल्तिको लवजमा शुभकामना भनी नसक्दै मैले भने -" के को मेरो जन्म दिन नि ! यो त फेसबुकको कमाल मात्र हो !"
"हैन के भन्छ यो ? फेसबुकमा संलग्न हुँदा तँ आफैले जन्म दिन लेखेको होइन त !?" उसले आश्चर्यभावमा मलाई क्वारक्वार्ति हेर्यो ।
"हो ! तर मेरो मर्जीको मिति हाल्या थेँ "- मैले जवाफ दिएँ ।
"तेरो जन्म दिन कुन हो त बर्षभरिमा ?" मलाई उसले केर्दैछ भन्ने लागेर मैले उत्तर दिएँ -
" मेरी आमालाई सोध्नुपर्छ ।"
" हेर त ! पार्टी दिनु पर्ला भनेर ढाँटेको ...! बितिसकेकी आमाको आड लाग्छ ! कहीँ नभाको चुइयाँ ....!"
" के भनिस रे ! ....म कसैको जन्म दिनको पार्टीमा खान गएको देख्या छस् कहिल्यै ?.... हेर भाइ ! आफ्नो संस्कार र ओेैकात बिर्सेर देखासिकीमा रमाइलो गर्दा ऋणमा डुबेको तारकलाई हेर त ! अनि दियो -बत्ती बालेर, आमा बाको आशीर्वाद लिएर घरभित्रै मनाउनु पर्ने जन्म दिनलाई आधुनिक बनेर पार्टी प्यालेसमा पार्टी दिई बत्ती निभाएर मनाउने नेता, कर्मचारी र ठेकेदारलाई अख्तियारले जेलमा हालेको देख्दादेख्दै आफ्नो गच्छेभन्दा बाहिर गई जन्म दिन कुन मूर्खले मनाउला र मैले मनाउँछु त नि ! "
मेरो कुरा सुनेर ऊ ट्वाँ पर्यापर्यै भयो ।
- कलङ्की, काठमाडौं मनपा-१४