काठमाडौँ । जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले लकडाउन तथा निषेधाज्ञाको अवस्थामा पनि कोरोना सङ्क्रमण बढ्नुका विभिन्न कारण र तिनीहरूको विकल्प अपनाउन अनुरोध गरेका छन्। त्यसका लागि उनले सरकार, नागरिक वा अन्य पक्षबाट भएका त्रुटि तथा अब अपनाउनुपर्ने विधिबारे उल्लेख गरेका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा निषेधाज्ञाको व्यवस्थापन सूक्ष्म तरीकाले नगरिनु, मुख्य सडकमा सुनसान बनाइएको भए पनि भित्री बस्ती र गल्लीमा लकडाउनमा कडाइ नगरिनु, तरकारी बजार डिपार्टमेन्टल स्टोर्स जस्ता भिडभाड हुने ठाउँहरू खोलिनु, संवेदनशील स्थानमा पुलिङ पद्धतिबाट मास टेस्टीङ नगरिनु, विभिन्न मातृभाषामा जनचेतना जगाउने विज्ञापन वा टेलिफिल्म तथा कार्यक्रमहरू निर्माण नगरिनु, नागरिकलाई परिचालन नगरिनु, राहत वितरण गर्दा न्यून आय भएका नागरिकहरू जोखिम मोल्न बाध्य हुनुले सङ्क्रमण बढिरहेको बताएका छन्।
यस्तै, विज्ञको सुझावअनुसार अल्पकालीन र दीर्घकालीन रणनीति नबनाइनु, भारतसँगको सीमामा सुरक्षाकर्मी र स्थानीय नागरिकको संयुक्त गस्तीबाट नियन्त्रण नगरिनु, अन्तर प्रदेश तथा अन्तर जिल्ला आवागमनको नियमन नगरिनु र भारतीय मजदुर, सङ्क्रमित जिल्लाबाट आएका व्यक्ति, सुकुम्वासी बस्ती, तरकारी बजार, चोकका पसल, वधशाला, साँगुरा गल्लीभित्रका व्यवसायी, फोहोर तथा कवाडी सङ्कलन गर्ने व्यक्ति, सफाइकर्मी आदिलाई खोजिखोजी परीक्षण नगरिनुले नै सङ्क्रमण बढिरहेको पनि डा. पाण्डेले बताएका छन्।
त्यसो भए अब गर्ने के? लकडाउन तथा निषेधाज्ञाले दैनिक काम गरेर खाने वर्गलाई ठूलो समस्या परेकाले निषेधाज्ञा हटाएर जनजीवनलाई सजिलो बनाउनुपर्ने डा. पाण्डेको सुझाव छ। सङ्क्रमण बढ्न नदिन सडक, बस्ती, गल्ली, बजार सबैतिर मास्क लगाउने, व्यक्तिगत दूरी कायम गर्ने, भिडभाड नगर्नेजस्ता अभ्यास गरे र नगरेको नियमित अनुगमन तथा निगरानी गर्ने, मापदण्ड पालना नगर्नेलाई जरिवानाको व्यवस्था गर्ने, सुरक्षाकर्मी तथा सिसिटिभीबाट हरेक टोलको भिडभाड अनुगमन गर्नुपर्ने उनले बताएका छन्। मास्क नलगाएका र सामाजिक दूरी कायम नगरेकालाई कुनै पनि सेवा उपलब्ध नगराउने, ९० प्रतिशत भन्दा धेरैले मास्क लगाउने तथा दुरी कायम गर्ने वातावरण तयार गर्ने, प्रत्येक वडा, क्लब, टोल सुधार समिति, महिला समूह, गैर सरकारी संस्था, विभिन्न पार्टीका भातृ संस्था आदिलाई परिचालन गरेर घरघरमा मास्क, साबुन, विपन्नलाई राहत तथा जनचेतनाका सामग्री वितरण गर्ने र शङ्कास्पद व्यक्तिलाई खोजिखोजी परीक्षण गर्नुपर्ने डा. पाण्डे बताउँछन्।
अहिले भइरहेको परीक्षणको सङ्ख्या निकै न्यून भएकोले पुलिङ बिधिबाट दैनिक १ लाख जनाको कोरोना परीक्षण गर्ने, लामा र धेरै क्षमता भएका सार्वजनिक यातायातमा मापदण्ड पूरा गरेर सञ्चालन गर्ने, माइक्रो बसलाई एम्बुलेन्स बनाई टेम्पुलाई अन्य सामग्री बोक्न प्रयोग गर्ने, व्यक्तिगत सवारीहरू जोर बिजोर प्रणालीमा चलाउने, सिटामोल, जीवनजल मास्क, स्यानिटाइजर र साबुनलाई हरेक स्वास्थ्य संस्थाबाट निःशुल्क वितरण गर्ने व्यवस्था मिलाउनुपर्ने, कोरोना फ्री वडा र पालिका बनाउने अभियान सुरु गर्ने, सञ्चार माध्यम तथा सामाजिक सञ्जाललाई कोरोना रोकथामका उपाय, सकारात्मक बिचार तथा वैज्ञानिक बिचार प्रसारण र प्रकाशन गर्ने वातावरण सिर्जना गर्ने तथा जुनसुकै कोणबाट आतङ्क फैलाउने गतिविधिलाई निरुत्साहित गर्नुपर्ने उनको सुझाव छ।
यस्तै पूर्ववत् पेसाबाट विस्थापित भएका, बेरोजगार तथा नोक्सानमा परेका समूहलाई नयाँ रोजगारीको क्षेत्रमा पुनर्स्थापित गर्न सरकारले सहजीकरण गर्ने, भिडभाड हुने क्षेत्र नखोल्ने, समूहमा बस्ने तथा काम गर्ने समूहहरू सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सफाइकर्मी, सञ्चारकर्मी तथा होस्टेलमा बस्ने सबैलाई अनिवार्य रूपमा जनस्वास्थ्यका मापदण्ड अपनाउन लगाउने, स्वतन्त्र विज्ञको समिति गठन गरेर हरेक सञ्चार माध्यमबाट कोरोना सङ्क्रमणबारे समान धारणा नियमित रूपमा प्रसारण र प्रकाशन गर्ने र मनोपरामर्श सेवा प्रभावकारी बनाउनुपर्ने डा. पाण्डेले फेसबुकमा लेखेका छन्।