जसरी उदण्ड महाराज
रणबहादुरका बहुलठ्ठीपूर्ण
हर्कतहरूको बारेमा
दुईसय वर्ष पछि लेखिन थालियो
जसरी एकसय वर्षपछि
जंगबहादुर कुँवर राणाले
कोत वा भण्डारखाल अथवा
बस्नेतपर्वमा गरेका
नरसंहारको रक्तबृतान्त
कहिन थालियो
जसरी निरीह किर्तीपुरेहरूको
गोर्खाली बादशाहका निर्मोही सिपाहीहरूले
धार्नीका हिसाबले काटिएका
नाककानको गणना
अधिपत्यको ढाईसय वर्षपछि गर्न थालियो
भाडाका सिपाहीहरूको प्रस्थानबिन्दु थियो
नालापानीको युद्ध र
त्यसका नायक थिए
बीर बलभद्र कुँवर
जो आज विभूतिको पगरीसहित
मुस्कुराइरहेकाछन् पटाङ्गिनीहरूमा
यिनै यथोचित उप्रान्त
जहाँ म आज खडा छु
यही जन्म लिने छु दुई शताब्दी पछि
र इतिहासका हर रक्तगोरेटाहरू
नालायकी एवं पथभ्रष्टताका
कहाली लाग्दा बृतान्तहरू कहने छु ।
योगमायाका अधुरा सपनाहरू
जलसमाधिको शताब्दीपछि पनि
अरुण नदीका जलधाराहरू माझ
बेलाबखत सुस्साइ रहन्छन्
मेरी छोरीले नभनेर हो खुलेर मलाई
उनले हररात देख्ने सपनाहरूमा
जातपातको डरलाग्दा मुखौटा
गोडधुवा वा दाइजोरुपि
गोमनका प्रतिबिम्बहरू हुने गर्दछन्
धराका अनेकौ परतभित्र गुमनाम बन्न पुगेका
निर्मलाहरूका दारुण कथाहरू
एकाध वा दशक पुराना मात्र हुँदै होइनन्
मान्नुस् वा नमान्नुस्
यी कथाहरूको इतिहास हिमाल जत्तिकै पुराना छन्
म, दुई शताब्दीपछि
पुनर्जन्म लिनेछु सोतीको आसपासमा
र कहने छु
रोशनी दिदीबहिनीहरूको
आगनमा ढालिएको अम्बाको कथा
अन्यायमूर्ति, हत्यारा, बलात्कारी र दसी मेटाउने
राष्ट्र सेवकहरूको अजम्बरी कहानी ।
दुई शताब्दी बहुतै लामो समय हो
मेरो यो दाबीउपर
तपाईं विश्वास नगर्न सक्नुहुन्छ
यद्यपि म बिर्सने छैन
आजका यी दुःस्वप्नहरू
बकैया नदीमा बन्दै गरेको पुल
त्रिशुलीमा बन्दै गरेको तुइन
सेतीमा बन्दै गरेको फड्के
कयौं म्याद गुज्रिदाँसमेत बन्दैनन्
र पनि छट्टु शासक
कहानी माथि कहानी जोड्दै
समृद्धिगान गाउन छोड्दैन
सर्लाही, महोत्तरीका धर्तिपुत्रहरू
बैकबाट ऋण लिएर
बिउबिजन र मलखाद किन्छन्
उखु उमार्छन् सुम्पिन्छन् सेठलाई
सेठ वर्षाैं तिर्दैन किसानको पाउना
र पनि उसलाई कुनै बात लाग्दैन
तपाईं लेखेर राख्नुस्
आगामी दुई शताब्दी पछि पनि
जब म सर्लाही र महोत्तरीका
सिमानाहरूमा पुनर्जन्म लिनेछु
सो बेलापनि
कर्जाको बोझले थिचिएका
उनै राभरोसेहरूको
दुःखान्त कहिरहेको हुनेछु ।
इतिहास हो,
पानीसरह बगिरहेको हुन्छ
तिम्रो आजको यो इतिहास पनि
आजजस्तै जगमगाउँदो रहने छैन
समय लाग्ला
तर तिमीले रोक्न सक्ने छैनौ
यी तथ्यहरूलाई सतहमा आउन
अमर मारियो त के भयो ?
दासढुङ्गाका परतहरूमा
आजपनि मदनबन्धुहरूका छटपटाहट ताजै होलान्
याद राख एक न एकदिन
ती छटपटाहटहरू बौरिने छन्
र हत्याराहरूको भेद खोल्नेछन् ।
यो मेरो दाबा हो,
यावत शिलापत्रहरूको ठीक दुई शताब्दी पछि
म बौरिनेछु क्रुसबाट
जसरी बेथ्लेहममा मरियम सुपुत्र बौरिएका थिए
र पुनः समाधिष्त भएका थिए
तर म समाधिष्त हुने छैन
मेरो लागि कहिल्यै खनिने छैन चिहान
किनकि
मलाई त कहनु छ
शिखर आरोहण
चेपाङ, दनुवार र मुसहरहरूको
नलीहाडको जगमा खडाभएको
तिम्रो स्वर्णमहल र तिमी सवार हुने
आलिसान रातो कार्पेटको
बिरुदावलि ।
बुटवल ।