Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

असली लेखक (लघुकथा) - विधान आचार्य

असली लेखक (लघुकथा) - विधान आचार्य

नेप्लिज डायस्पोरा

२९, भाद्र २०७७
images
असली लेखक (लघुकथा) - विधान आचार्य


"हजुरको हातबाट भाषा र बिषयवस्तुको सम्पादन नभई म यी रचना कतै प्रकाशन गर्दिनँ । यति हजुरले मेरा निम्ति गरिदिनै पर्छ ।"
प्राज्ञिक बिषय थियो । ठिकै छ, त्यत्तिको उचाइ भएको व्यक्तिले यसरी आग्रहसाथ भनेपछि उसले नाइँ भन्न सकेन ।


समय कहाँ थियो र, निकाल्नुपर्थ्यो । बारम्बार इमेल वा मेसेन्जरमा आउँदै जान्थे, ऊ रातबिरात गरेर हेरिदिन्थ्यो । उसको प्राइभेट अफिसमा भने यही कारणले सहकर्मीसित थोरै मनमुटाव पनि भयो, आफ्नो अफिसको कामका लागि समय नदिएको गुनासो आयो । उसले झेल्यो ती सबै । उसको कम्प्युटरमा एउटा फोल्डर उनै लेखकका नाममा रह्यो । हेर्दै पठाउँदै गर्ने क्रम चल्यो । आखिर एउटा असल सिर्जनात्मक कामका लागि थियो त्यो ।


पुस्तक नै निस्कने सूचना आयो । झन् राम्रो । आफूले सहयोग गरिदिएका कारण एउटा सिङ्गै पुस्तक निस्कँदैछ भन्दा जसलाई पनि हर्ष हुन्छ, उसलाई पनि भयो ।

लोकार्पण कार्यक्रमको निम्ताको कार्ड उसको मेलमा आयो - साथमा एउटा अनुरोध पनि "सर! कृपापूर्वक यो निम्ता आफ्ना सम्पर्कमा भएका सबैलाई पठाइदिनु होस् । मेरो त सम्पर्क सूत्र नै हजुर त हो ।" उसले त्यस विनम्रताको कदर गरेर सबैलाई निम्ता पनि गरिदियो ।
कार्यक्रममा उपस्थित हुनेमध्ये साठी प्रतिशत जति उसैका निम्तालु थिए । ऊ दङ्गदास भयो ।


कार्यक्रम सुरु भयो, ऊ दर्शक दीर्घामा चुपचाप बसिरह्यो । सबैले उसलाई हेरेर गिज्याइरहेका जस्तो लाग्यो । अरू वक्तालाई त सरोकारको कुरा भएन लेखकले बोल्ने बेला त्यत्रो मिहिनेतको पक्कै सम्झना गर्लान्, र नाम लेलान् भनेर ऊ मख्ख परेको थियो । त्यो पनि स्वाहा भयो ।


कार्यक्रम सकेर निस्कने बेलामा उसले अधिकारपूर्वक लेखकलाई हातमा समातेर भन्यो "बधाई छ ल ! खै, किताब उपलब्ध गराउनुस् त!" लेखकले उल्टो उसको हात झट्कारेर बोले "के मागिराख्या ? उ त्यहाँ काउन्टरमा गएर किन्नुस् न ।"
०००

- सातदोबाटो, ललितपुर ।
[email protected]
साभार : लघुकथा कुनो

images
प्रकाशित मिति :भाद्र २९, २०७७ सोमवार - ०१:४५:०६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend