Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

घरबेटीकी छोरी (लघुकथा) -करुण कौशिक

घरबेटीकी छोरी (लघुकथा) -करुण कौशिक

नेप्लिज डायस्पोरा

२९, भाद्र २०७७
images
घरबेटीकी छोरी (लघुकथा) -करुण कौशिक


हामी दुई दाजुभाई पोखरामा डेरा गरी बस्थ्याैं । मैले स्नातकोत्तर पढाइ सिध्याएर भर्खर एउटा स्कुलमा शिक्षकको जागिर शुरु गरेकाे थिएँ । भाई यता पि. एन. मा स्नातकोत्तर पढ्दै थियो । घरमा बाआमाले मलाई अब छिट्टै बिहे गर्नुपर्ने सल्लाह दिनुभएको थियो । जसले गर्दा हामीलाई डेरामा खानपिन र अरु दैनिक व्यवहारमा सहज हुने उहाँहरूको तर्क थियोे ।


घरबेटीकी छाेरी तारा, उमेर २१ बर्षकी । आकाशका ताराकै जस्ताे चम्किलो अनुहार र सुन्दर रुप लाग्थ्यो मलाई । शुरु-शुरुमा यस्ताे लाग्थेन । तर रहँदा बस्दा बिस्तारै उनको व्यवहारले आकर्षित गरायो । नरम र मीठो बोली । विशेषगरी मप्रति निकै सरल र साैम्य व्यवहार । कहिलेकाहीँ खाना खाए-नखाएको विशेष चासो । पानी भर्ने, सुकाएका कपडाहरू बेलैमा उठाइदिने, कोठा बाहिरफेर असरल्ल हाम्रा सामानहरू व्यवस्थित गरिदिने लगायतका स-साना तर महत्वपूर्ण काममा उनकाे सहयोगले म उनीप्रति निकै आकर्षित हुन थालेँ । नढाँटी भनूँ ?, मैले उनलाई प्रेम गर्न थालेँ ।
एउटा समस्या । मसँग उनी अलिक बढी लाज मान्थिन् । त्यसैले त यति हुँदाहुँदै पनि मैले उनीसँग प्रेमको अभिव्यक्ति गर्न सकेको थिइन । दुई-तीन पटक त प्रयास गरेकै हो तर प्रतिष्ठा, दुवै पक्षका बाआमाको सम्झना, अगाडि परेपछि जोड-जोडले धड्किने आफ्नै मुटु इत्यादिले हरेक चोटी असफल ।


जहाँ इच्छा त्यहाँ उपाय । जेठको अन्तिम र असार याने कि लगनको महिना आउन लागेको अनि भाई पनि जाँच सकेर घर गएको थियो । केही दिन घरको रेखदेख भाईले गर्छ, बाआमालाई नै पोखरा बोलाउने, उनका बाआमासित कुरा गर्न लगाउने, उनी नमान्ने प्रश्नै छैन, अनि पहिलो साता, पहिलो लगन, मेरो घरजम । यस्तो जुक्ति फुर्यो ।


बा-आमा पोखरा आउनुभयो । कुराकानी भयो । केटी पक्षका सबै सहमत हुनुभयो । तर तारासित सल्लाह गरेर मात्र टीका लगाउने निर्णय भयो । विदा मनाउन तीन दिनको लागि घुम्न गएकीले तारासित भोलि उनी आएपछि सल्लाह गरेर काम सक्ने भइयो ।


सीमाविहीन खुसी । उठ्दा बस्दा सुत्दा हिँड्दा उनकै मात्र कल्पना, केवल उनकै मात्र सम्झना । कहिले आउँछ भोलि जस्तो भयो । साँझ पर्यो । रात पर्यो । मध्यरात भयो । बिहान उज्यालो भयो । बिहानको दश बज्यो । उनी आइनन् । उनको फोन आयो । उनका बाले भन्नुभयो छोरी आधा घण्टामा आइपुग्छिन् रे ।


फेरि खुशीयाली बन्यो मन संसार । बाटो हेरिरह्याैं । सबै उनको पर्खाइमा । अन्ततः घर अगाडि एउटा कार रोकियो । उनी झरिन्, विस्तारै आइन तर बेहुलीकै भेषमा । सँगसँगै बेहुला पनि थियो । बेहुला बेहुली दुवै मिली भागी बिहेप्रति क्षमा मागे । घरकासँग आशिर्वाद मागे । मैले पनि दुवैकाे शिरमाथि हात राख्दै आशिर्वाद दिएँ- " मेरा सहोदर भाई र बुहारी सदा सुखी रहुन्" ।


- भानु न.पा.-१, डुम्रे, तनहुँ ।
२०७३ जेठ २९

images
प्रकाशित मिति :भाद्र २९, २०७७ सोमवार - ०२:१२:३० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend