ओखती रोगमा खाना भोकमा नदिएपछि
पितृको ऋण चर्को त्यो चुकाउनु पर्यो किन !
सुम्पिई बगरेलाई गाई गोजी भरेपछि
गोहीका आँसु ब्यर्थैमा चुहाउनु पर्यो किन !
हारे पनि तिमी नै हौ जाने माथि भनेपछि
चुनाव नामको धाचा चलाउनु पर्यो किन ?
गोली ठोक्न लगाएर आफै मारिसकेपछि
शहीद गेटमा माथ झुकाउनु पर्यो किन !
भ्रष्ट छैनन्, हुँदै हैनन् भन्ने भइसकेपछि
यो अख्तियारको माला उनाउनु पर्यो किन !
स्वार्थकै खेल हो सारा भन्ने परिसकेपछि
नीति सिद्धान्तको नाम भजाउनु पर्यो किन !
भेटै हुन्न, कुरै हुन्न भन्ने लागिसकेपछि
नातो सम्बन्धको धाक लगाउनु पर्यो किन !
‘तिमी सँगसँगै तिम्रा धूर्त’ भन्ने भएपछि
तिमीसँग यिनी आँखा झुकाउनु पर्यो किन !
पाल्पा, हाल- काठमाण्डौं ३२ मनोहरवस्ती