आत्माले देह परिवर्तन गरेपछि परलोकमा धनीराम र बिश्वनाथको पुनर्भेट बिश्वनाथको घरमा भयो । इहलोकको आफ्नो घरको नोकर परलोकमा एउटा सुविधा सम्पन्न घरको मालिक बनेर बसेको र आफू खान नपाएर माग्दै हिँड्न परेको देखेर धनीरामले अचम्मित भएर सोधे- 'हैन बिश्वनाथ यो कसरी सम्भव भयो ? तँ त्यति गरिब मान्छेले यति राम्रो घर कसरी पाइस् ?'
बिश्वनाथले भने- "मलाई भगवानले दिनुभएको ।" त्यसपछि धनीराम सरासर भगवानको घरमा गएर त्यस्तै घर मागे । अनि भगवानले भन्नुभयो- "हेर बाबु, मागेर पाइँदैन । तिमीले पूर्वजन्ममा जे जति सम्पति जम्मा गर्छौ त्यत्ति नै यो जन्ममा पाउँछौ ।'
" ओहो ! प्रभु ! उजन्ममा त मैले थुप्रै सम्पत्ति जम्मा गरेको हुँ । म कत्रो सम्पतिको मालिक थिएँ । त्यो बिश्वनाथ जसलाई हजुरले सुविधासम्पन्न महल दिनुभएको छ त्यो त कति गरिब थियो । माग्दै हिँड्थ्यो, पछि मैले नै मेरो घरको नोकर राखेँ । मैंले पैसा दिए मात्र खान पाउँथ्यो त्यसले । हजुर झुक्किनुभएछ । त्यो घरको मालिक म हुनुपर्छ र म जस्तो माग्ने त त्यो हुनुपर्छ प्रभु ! "
भगवानले भन्नुभयो- "म झुक्किएको छैन बाबु, तिमीहरुका हरेक कामका हिसाबकिताब हामीसँग छ । ऊ जन्ममा प्रसस्त धन सम्पत्ति भएर पनि तिमीले सधैँ, छैन छैन भन्यौ । हरेक पटक खेत खन्दा छिमेकीको सिमाना मिची मिची आफ्नो जमिनको क्षेत्रफल बढायौ । दुनियाँलाई झुक्याएर अकुत सम्पत्ति जोड्यौ । ढोकामा माग्न आएका भिखारीलाई के के भनेर, गाली गरेर पठायौ । तिमीलाई त्यही जन्ममा त सम्पत्तिले पुगेको थिएन यो जन्मको लागि के पठाएको थियौ र, यहाँ घर पाउँछौ त ? बिश्वनाथ जो तिम्रो घरको नोकर थियो, उसले तिम्रोमा काम गरेर ज्याला पाएको दिन आफ्नो कमाइको केही भाग खोजी-खोजी गरिव दु:खीलाई दान गरेर मात्र बचेको रकम लिएर घर जान्थ्यो । उसले यसरी नै आफ्नो सम्पत्ति यता जम्मा गर्न पठाएको थियो । त्यही उसको खातामा जम्मा भएको सम्पत्तिले अहिले यहाँ सुविधा सम्पन्न घरको मालिक भयो । त्यहाँको खातामा जति जम्मा भयो त्यो त्यहाँ छइञ्जेल उपभोग गर्ने हो । यहाँ उपभोग गर्न त तिमीले कमाएको सम्पत्ति यहाँकै खातामा पठाउनुपर्छ । तिमीले नपठाएको सम्पत्ति अब मैले कसरी दिऊँ ?"
- दुराडाँडा लमजुङ्ग हाल : गैंडाकोट नवलपुर ।