म पागल हुँ
हो म पागल हुँ
मलाई पागलको प्रमाण पत्र देउ
परिचय पत्र नै बनाईदेउ
घांटीमा भिरेर हिडनेछु
मैले तिमीहरु जस्तो
मौका हेरेर
कालोलाई सेतो र
सेतोलाई कालो
कहिले भनिन
सत्ताको कठपुतली कहिले बनिन
हो म पागल हुँ |
दुर्गम गाउँका गरिब पागलहरुलाई
उपचार गर्छु
तिनै गरिबलाई सिटामोल बाडेर
मर्नबाट बचाउछु
हो म पागल हुँ |
तिमीहरु हवाई जहाज चढेर
विदेशको सयरमा निस्कँदा
म थोत्रो झोलामा अलिकती औषधि बोकेर
गाउँघरको उकालो चढिरहेको हुन्छु
तिमीहरुले राजधानीको तारे होटेलमा
कुखुराका सपेटा लुछ्दै गर्दा
म बिकट गाउँमा गरिबको छोराको
पिलो निचोरीरहेको हुन्छु
हो म पागल हुँ |
कुनै राम्रो पद पाउनका लागी
तिम्रा कार्यकर्ताहरुलाई
विन्तीपत्र चढाउन
तिम्रा दरवारमा धाउदिन
तिमीहरुले निम्त्याएका रात्री भोजमा
दुई हात जोडेर आउदिन
हो म पागल हुँ |
तिमीहरुको कालो कमाईलाई
सेतो बनाईदिने
ताकत छैन मसंग
तिमीहरुलाई चन्दा दिने नाममा
बोराका बोरा रुपिया
पठाइदिने सामर्थ्य छैन मसंग
तिमीहरुले गरेको भ्रस्टाचारमा
आखाँ चिम्लीदिने शक्ती छैन मसंग
हो म पागल हुँ |
तिमीहरुलाई भोट दिएर नेता बनाउने
म पागल नै हुँ
तिमीहरुलाई भोट दिएर
देशको ढुकुटी
बर्बाद पार्न पठाउने
ति गरिब जनता पनि पागल नै हुन्
त्यसैले, मर्न तयार छु तिनै पागल जनताहरुका लागी
किनकि म पागल हुँ |
(साहित्यकार सकुन ज्ञवालीले यो कविता सन् २०१६ मा लेख्नु भएको हो। डाक्टर केसीको १९ औं अनसन भर्खर तोडिएको छ। सकुन ज्ञवालीअमेरिकाको हाल न्यु योर्कमा हुनुहुन्छ। -सम्पादक।)