Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

बधाईका शब्द मात्र होइन पुष्पगुच्छा नै बर्साउने रहर छ, तर ...

बधाईका शब्द मात्र होइन पुष्पगुच्छा नै बर्साउने रहर छ, तर ...

नेप्लिज डायस्पोरा

२९, आश्विन २०७७
images
बधाईका शब्द मात्र होइन पुष्पगुच्छा नै बर्साउने रहर छ,  तर ...

 

शान्ति अर्याल अधिकारी

न कसैको बिरोध न कसैको चाप्लुसी, देश र जनता प्रति बफादार भएर काम गरेको देख्न पाए नेताज्यूहरूलाई बधाई र शुभकामना मात्र किन पुष्पगुच्छा नै बर्साउने रहर छ । गत बुधबार मात्र बनेको नयाँ मन्त्री मण्डलप्रति बधाई र शुभकामना आइरहँदा, न कुनै रिस राग न कुनै ईष्र्या तर पनि मनमा नमिठो अनुभूति भईरहेको भने पक्कै हो । केही दिन अगाडी सम्म प्रदेश ५ को राजधानीको प्रसंगलाई लिएर विवादित बनेका नेता ज्यू एकाएक अर्थमन्त्री बन्न पुगेँ । राजधानी जहाँ सुकै होस त्यो खासै चासोको विषय भएन किनकि बिकासको दृष्टिकोणले हेर्दा समग्र देशको बिकासको निम्ति हरेक ठाउँको बिकास हुनु जरूरी छ ।
तर चासो र चिन्ताको बिषय यो हो कि, नेताले हिजो जनता माँझ कस्तो भ्रम छरे, आज के गरे र भोली के गर्दै छन ? उनीहरूको नियत र नैतिकता माथी प्रश्न गर्ने बेला आएन र ? हाम्रो उमेर भन्दा जेठो राजनितीक अनुभब संगालेका नेता ज्यूहरू, पाल्पा, स्याङ्जा, गुल्मी र रुपन्देहीबाट बर्षौ अगाडिदेखि राज्यको शिर्ष तहमा बिराजमानहुदा पनि यिनै जिल्लाहरूलाई जोड्ने मुख्य मार्गको रूपमा रहेको सिद्दार्थ राजमार्गको शिद्दबाबा खण्ड सधै मृत्यु मार्गको रूपमा चिनिनु बिडम्बनाको कुरा होइन र ? सडकमा जनताले भोगेको त्यो सास्तीलाई टुलुटुलु हेरेर म कसरी बधाई भनौ नेता ज्यू?

देशमा भईरहेको अराजकता, मौलाउँदै गईरहेको हत्या हिंसा आतंक भ्रष्टाचार र बलात्कारका समाचारहरूले मुटु अमिलो बनाईरहेको छ । तलदेखि माथीसम्म भ्रष्टाचारले जरा गाडिरहेको छ । ठाउँमा हुने र पहुँच पुग्नेहरू रातारात मालामाल भैरहेका छन । हुनेखाने र हुँदाखानेहरुबीच जमिन आकाशको फरक देखिन्छ ।

देशमा रोजगारीको ब्यबस्था छैन, गाउँमा गाई भैसीको दुध बेचिबेचि पढेर डिग्री पास गरेका लाखौ युवाहरू सर्टिफिकेट बाकसमा थन्क्याएर सुन्दर भबिष्यको खोजीमा बिदेशिन बाध्य छन । देशमै केही गर्ने योजना बनाएका युबाहरु पनि सरकारलाई बुझाउनु पर्ने चर्को कर र देशको राजनीतिक बाताबरणले गर्दा उदास देखिन्छन् । कृषि, पर्यटन , होटल लगायत अन्य ब्यबसायहरू पनि फस्टाउन सकेका छैनन् । लगानी खेर जाने डरमा ब्यवसायी हरू छट्पटाइरहेका हुन्छन् ।

जनताका छोरा छोरि लाई शिक्षा र स्वास्थ्य को ग्यारेन्टी हुन सकेको छैन । मन परेको प्राबधिक बिषय पढ्न चाहे महङ्गो शुल्क तिर्नुपर्छ । शरीरमा कुनै रोग लागे आर्थिक अभाव कै कारण उपचार गर्न नसकेर अकालमा ज्यान गुमाउनु परिरहेको छ । उता सर्बहाराको नेतृत्व गर्ने भनेका नेताहरुको ध्यान देश र जनताप्रति भन्दा पनि कुर्ची र सत्ता कै मोह, आफ्नै ब्यक्तित्व बिकासमा बढी गईरहेको देखिन्छ ।

बलात्कारी अपराधीले सजाय पाउदैन, पिडितले न्याय पाउँदैन सर्वसाधारण नागरिकले देशमा लोकतन्त्र आएको अनुभूतिसम्म गर्न पाएको छैन । देश बनाउछु भनेर कसम खाने, जनतामा भ्रम छर्ने, जनताको मतबाट नै सिहदरवार छिर्ने अनि पद र पैसामा नेताहरु बिक्ने आखिर कहिलेसम्म ? पछिल्लो निर्वाचन सकिएको पनि ३ बर्ष बढी भैसक्यो । खासै उपलब्धि देख्न पाईएको छैन। अब त झनै के प्रगति होला र समय छोटिदै छ ।

पाँच वर्षमा देशले केही काचुली फेर्ला भन्ने आशा राखेर आफ्नो अमुल्य मत प्रदान गरी नेतालाई जिताएका जनतामा हात्ती आयो, हात्ती आयो फुस्सा भने जस्तै भएको छ । देशको समग्र बिकासको चाहना राख्नु त मुर्खता मात्र हुने भयो । राज्यको नियम पद्दति र कानुनमाथी पनि प्रश्न गरिराख्नु पर्ने बाताबरण सिर्जना भईरहेको छ । भ्रष्टाचार र बलात्कार मौलाएकै छ, महिलाका पिडा छुट्टै छन । युवा, बालबालिका तथा अन्य बर्गहरूका पिडा आ आफ्नै ठाउँ ठाउँमा देखिन्छन् । आखिर सम्बोधन गर्ने र सही कार्यान्वयन गराउने कसले ?

पछिल्लो समय सुरुङमार्ग निर्माणको लागि बजेट बिनियोजन भए पनि काम हुन सकेको छैन । अझ कति नागरिकले त्यो ठाउँमा ज्यान गुमाउनु पर्ने हो ? कहिलेसम्म सास्ती भोग्नु पर्ने हो, थाहा छैन ।

यतिबेला धेरै अपेक्षा नराखी अपराधीले सजाय पाउने र पिडितले न्याय पाउने ब्यबस्थाको बिकास हुन सके, शिद्दबाबा सडक खण्डले काँचुली फेर्न सकेछ र नागरिकले केही हदसम्म बिकासको अनुभूति गर्न पाउने दिन आएछ भने नेताज्यूहरूलाई बधाई र शुभकामनाका शब्द मात्र होइन पुष्पगुच्छा नै बर्साउने रहर छ ।


लिस्बन पोर्तुगल

images
प्रकाशित मिति :आश्विन २९, २०७७ बिहिवार - २१:३४:२३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend