एकाबिहानै मेरो मोबाइलको घण्टी बज्यो । तल्लाघरे सान्दाइको फोन रहेछ । मैले निद्राकाे तन्द्रा अवस्थाबाटै मोबाइल उठाएर भनेँ - "हलो !!"
"भाइ ! खसी काट्या छौं । मासु खाने हो ?" उताको आवाज थियो ।
"अँ ! दाइ खाने हो । दुई किलो राख्दिनु है ।" मैले भने ।
घटस्थापनाको दिन घरमा श्रीमतीलाई भ्याइनभ्याई भएको थियो । म जुरुक्क उठेर सान्दाइ कहाँ जाने निधो गरेँ ।
"फेरी कता ! जताततै काम असरल्ल छ । कमसेकम तपाईंले जमराको लागि दुईचार बाल्टी चोखो माटो ल्याइ दिए केही राहत हुन्थ्यो ।" उनले बीचमै राेकेर भनिन् ।
अघि नै हो मलाई स्यान्दाइले बोलाएको । तिमीले त्यो काम छोराछोरीलाई भने हुँदैन ?"
"हिजोआजका केटाकेटी ! अनलाइनबाट दशैंको शुभकामना दिन व्यस्त छन् । जाबो, यति काम त हो नि । हजुरले ल्याइदिए भैगो नि ।"
"अझै बिगारेर राख ! तिम्रा छोराछोरी । चौबीसै घण्टा नेटमा झुण्डिएर बाहिरका कुरा मात्रै जान्याछन् । दुईचार किलो आलु किनेर ल्याउने पनि ढंगै नभएका । जताततै म नै जोतिनुपर्छ भन्ने छ र !?" मेरो पारो तातेर आयो ।
"एकछिनमा मलाई पसल जानु छ । त्यहाँ अचार राख्ने खाली डिब्बा भनेकी थिएँ । फर्कँदा स्यान्दाइ कहाँ पसेर आउँछु । हुँदैन ? उनले भनिन् ।"
श्रीमती परस्त छु । नाइँ भन्ने कुरै भएन । बिहानभर उनले भनेको काम घर वरपर सरसफाइमा बित्यो । उनले "खाना खाने बेला भयो ।" भनेर बोलाउँदा हत्तपत्त नुहाएर भान्सामा तैनाथ भएँ ।
"के पकायौ र !? भान्सामा कुनै बासना नै छैन ?" मैले लामो छोटोे श्वास नाकभित्र बाहिर गराएर बस्दै भने ।
"फर्सी ।"
"सान्दाइ कहाँबाट मासु ल्याएनौ ?"
हातको इसाराले खसीको साइज देखाउँदै भनिन् । "सानो इत्रुको चेङ्ने खसी काट्या रैछन् । मासुको लागि हारालुछ थियोे । दाइले आधा किलो मात्रै पुग्छ भन्दै थिए । त्यति जाबो दाँतमै बिलाउँछ भनेर 'भयो' भन्दिएँ ।"
मैले निःसर्त उनको अनुहार हेरिरहेँ । उनले फर्सीको तरकारी ठूलो कचाैंरामा दिँदै सोधिन् , "आजको तरकारी कस्तो बन्याछ कुन्नि ?"
प्रतिउत्तरमा अगाडि राखिएको एक गिलास पानी स्वाट्ट पिएँ । उनको अनुहार हेरेँ । फिस्स मुस्कुराएँ । अरू कुनै उपाय थिएन । किनभने उनको सामुन्ने सत्य डग्मगाएर मेरो अन्तरआत्मा पराजित भैसकेको हुन्छ ।
- घोराही १८ दाङ ।
०२ कार्तिक २०७७