मुक्तक - १
आफ्नो छायाँ आफैँसँग नछोडिँदो पो रहिछ
घुम्ती नआए बाटो फेरि नमोडिँदो पो रहिछ
करकापले किन बाटिन्थ्यो सम्बन्धको डोरी
फुटेपछि त सीसा हजुर नजोडिँदो पो रहिछ !
मुक्तक - २
आँसुको मुहान सुकेपछि समर तरेको हुँ मैले
पीडाले सीमा नाघेपछि बारूद भरेको हुँ मैले
रहरले होइन कहरले जीवनपथ तय हुनेरहेछ
भोक लागेपछि स्वयंलाई बिक्री गरेको हुँ मैले !
मुक्तक - ३
ओठ उनका मुस्कान मेरो यस्तो एक साथी होस्
त्यो तस्विर पनि ह्रदयभित्र सबैभन्दा माथि होस्
समर्पणको गहिराइभित्र जिन्दगीभरि डुब्न सकूँ
मेरो खुसी त मानो भए उनको खुसी पाथी होस् !
मुक्तक - ४
नटुटुन् हर सपनाहरू जोकरको जोक जस्तै आज
नबनोस् हालत पनि भिखारीको भोक जस्तै आज
मुस्कुराउन् है सारा फूलहरू मनको डाली नुहाएर
नदुखोस् यो जिन्दगानी टुहुराको शोक जस्तै आज !
मुक्तक - ५
मेरै छिनोले खोपेको हुँ 'पुजारी बा' मन्दिरको मूर्ति
यही मुङ्ग्रीले पिटेको हुँ त्यो हुक्का तमाखु र सूर्ति
धड्कन एकै रगत रातै छुत अछुत कसरी भो भन
यिनै हातले तुनेका हम् तम्रा वस्त्र गर्छौ किन फूर्ति ?
- प्रथा
बाह्रदशी - १, झापा