Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

दुख्दा सँगसँगै रोयौ जस्तो - राजन सिलवाल (५ दमदार मुक्तकहरू )

दुख्दा सँगसँगै रोयौ जस्तो - राजन सिलवाल (५ दमदार मुक्तकहरू )

नेप्लिज डायस्पोरा

१७, कार्तिक २०७७
images
दुख्दा सँगसँगै रोयौ जस्तो   - राजन सिलवाल (५ दमदार मुक्तकहरू )

 

मुक्तक -१

के स्वाद जिन्दगीको ? बोझ भएर बाँचियो भने
ठेसहरूको मजा कहाँ ? मोज भएर बाँचियो भने
प्रकाशको न्यूनता र अन्धकारको के कमी छ र ?
प्रकाशमय हुन्छ नाम—ओज भएर बाँचियो भने ।

मुक्तक -२

वैरागमा पनि भेटिन्छ्यौ तिमी, रागमा नि भेटिन्छ्यौ
बिषालु सर्पको माझ र आराध्य नागमा नि भेटिन्छ्यौ
कहिल्यै हराउन्नौ तिमी म र मेरा कृतिहरू बाँचुञ्जेल
सम्झनाको पराग र हृदयको बागमा नि भेटिन्छ्यौ ।

मुक्तक -३

के काम कसैको दरबार ? आफ्नै घर काम लाग्छ
घाँस भएर के भो ? दूबो, कुश र खर काम लाग्छ
हो, म हुन सकिनँ वृक्ष तिम्रो जीवनमा, लौरो सम्झिऊ
नदी तर वा उकाली-ओराली मेरो भर काम लाग्छ ।

मुक्तक -४

भित्र पस्यौ एकाएक र मिठोसँग छोयौ जस्तो
ज्ञान र ध्यानको चर्चाले मैलो थोरै धोयौ जस्तो
तिम्रो असीम माया किन लाग्छ भने नि मलाई
म हाँस्दा हाँस्यौ र दुख्दा सँगसँगै रोयौ जस्तो ।

मुक्तक -५

आफ्नो समाजमा छिर्न सकिएन भनेर दुःख लाग्छ
भ्रमका धेरै पर्दाहरू चिर्न सकिएन भनेर दुःख लाग्छ
माधवी ! कसैको ऋण खाएर त भागिएन आजसम्म
तिम्रो प्रेमको ऋण तिर्न सकिएन भनेर दुःख लाग्छ ।

- खोपासी, काभ्रे

images
प्रकाशित मिति :कार्तिक १७, २०७७ सोमवार - १८:४३:१९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend