तिम्रो देश सदैव भन्दछ तिमी जाऊ कमाऊ तर
भन्छौ फेरि तिमी सदैव सजिलै फर्केर आऊ घर
मैले पर्छ अलग्ग सोच्न छ कहाँ मेरो भुईं वा घर
छोडेमा स्थल छाक बस्छ, कसरी फर्की म आऊँ घर?
भन्छौ भन्न, भनेर हुन्न,पहिले बस्ने व्यवस्था गर
दिन्छौ अन्न निवास, पेट भरिने खाने व्यवस्था छ र?
खानै पर्छ, बटार्छ पेट नभरे, रित्तै रहे चल्छ र !
बाँच्ने हुन्न भने उपाय कसरी फर्की म आऊँ घर?
गर्नै काम भएन, छैन धरती, पोखूँ भने जाँगर
गर्ने काम दिएर भन्छ कसले जानेर यस्तो गर
जानाजान विवेक, सीप कसले पो बन्धकी राख्छ र?
भन्छौ फर्कन यै यथार्थ नबुझी फर्की म आऊँ घर?
लाग्दा रोग, अभावमा, विपतमा आफै व्यवस्था गर
भन्ने भो सरकार नै अब त झन् आधार बाँकी छ र ?
मर्नै मात्र भए मरूँ अब जहाँ को आफ्नु? के आफ्नु र?
सम्झी दुख्छ चसक्क यो मुटु यसै फर्की न आऊँ घर?
तिम्रो बन्नु हुँदैन बोझ, नभई होला गुजारा भर?
मेरो थात र वासको असजिलो जानेर बोल्ने गर?
बाँचे झैं नभएर बाँच्नु पनि के हो बाँच्नु मात्रै कर
त्यस्तो हुन्न भने रह्यो अब र के फर्केर आऊँ घर?
राम्रो देश छ, छन् जलाशय,नदी,ऊर्जा,हिरा पत्थर
राम्रा साधनले खने खनिज छन् माटो सदा उर्वर
यस्सो हेर्छु विचार गर्छु म सधै सर्कार लाचार र
व्यर्थैका पछुवा बनेर किन खै फर्की म आऊँ घर?
पाल्पा, काठमाण्डौं