भाषा भेष भनी दियौ हर खुसी हे राष्ट्रका सेवक
रच्ने काव्य कला बसी हृदयमा हौ काव्यका साधक ।
तिम्रै काव्य सुधा पिएर वसुधा देख्दैछु भो झल्मल
थुप्रै कीर्ति दियौ मुना मदन औ उत्कृष्ट शाकुन्तल ।।१।
लक्ष्मी काव्यसुधी महाकवि तिमी हौ देशका गौरव
तिम्रो नाम लिँदै बढप्पन ममा छाओस् महाउत्सव ।
फुल्दैछन् कविता बनी सरसिला फक्रेर उन्मादले
धारा बग्न पुग्यो भर्यौ कविकला स्वच्छन्दतावादले ।।२।
लेख्यौ काव्य सुलोचना प्रमिथसै लूनी तथा कुञ्जिनी
चिल्ला पातहरू सुस्वादु रसिला जो लोकले सम्झिने ।
आफ्ना लागि नहोस् अभाव बटुली बाड्ने तिमी फूर्तिला
भन्थे मानिसले दयालु मनका बाजे तिमी साहिँला ।।३।
तिम्रो देह छुट्यो डुबेर कविता साहित्यको रागमा
आत्मामा कविता थियो रगतमा फुल्थे तिनै बागमा ।
सिङ्गो सागर हौ तिमी जलधि हौ खाली म लोटा बनेँ
थोपा ज्ञान पिएँ रचेर कविता हे देवकोटा भनी ।।४।
भुल्नै हुन्न कवै महान् सपुतको होस् राष्ट्रमा सम्झना
भाषा भेष कला दिगन्त रहला बाँच्ने छ रे सिर्जना ।
मर्ने देह न हो कला अमर होस् जाँदैन साथै ढली
तिम्रो जन्मविषे रचेर कविता अर्पिन्छु श्रद्धाञ्जली ।।५।