मुक्तक -१
तिम्रै यादमा रातदिन रूने गरायौ
तड्पि तड्पि आँशुले मुख धुने गरायौं
सपनीमा आउँछौ किन निन्द्रा भगाइदिन
ब्युँझिएर तिम्रै तस्बिर छुने गरायौं ।
मुक्तक -२
सधै सँगै हुन्छु भन्थ्यौ साथ टुटाएर गयौ
हिँड्दा -हिँड्दै गोरेटोमा हात छुटाएर गयौ
भेटै नभएको भए राम्रै हुने थियो बरू
छातीभित्र प्रहार गरी मुटु फुटाएर गयौ ।
मुक्तक -३
मायाको बिश्वास दिलाई देऊ प्रिय मान्छु बरू म
दुई मुटु एक साथ मिलाई देऊ प्रिय मान्छु बरू म
कहिलेसम्म बस्नू तड्पिएर यो अधुरो मायामा
आफ्नै हातले बिष पिलाई देऊ प्रिय मान्छु बरू म ।
मुक्तक -४
कसलाई सुनाउ ब्यथा खै सबैलाई आफ्नै पिर छ यहाँ
समय पनि कस्तो आयो न त मन स्थिर छ यहाँ
समयले दिएका सारा बज्रपातहरू सहन गर्दै
पीडा बोकी बाध्यताले उभिएका शिर छन् यहाँ ।
मुक्तक -५
मैन जस्तै जलेर पनि उज्यालो छर्न मन लाग्छ
दबाएर पिडा सबै खुशीहरू भर्न मन लाग्छ
हात तान्नेभन्दा खुट्टा तान्ने धेरै देख्छु यहाँ
बाँचुन्जेल अरूकै निम्ति केही गर्न मन लाग्छ ।
- बगनासकाली गापा वडा नं -४ खानीछाप पाल्पा,
हाल : लिस्बन पोर्तुगल ।