मुक्तक - १
आफ्नी छोरी जस्तै प्रिय , बुहारी पनि सोचिदिए
छोरीको भाव बुहारीकै , अनुहारमा खोजिदिए
पक्कै पनि सुन्दर बन्छ , हाम्रो सामजिक परिवेश
बुहारी विधवा हुँदा, फेरी , असल वर रोजिदिए ।
मुक्तक - २
सुख होऊन दु:ख पर्दा , हात र साथ दिने पो सच्चा मित्र
हाँसो भन्दा आँसु झर्दा , हात र साथ दिने पो सच्चा मित्र
शत्रु पनि आफ्ना हुन्छन, खुशी र सुखी हुँदाखेरि
दु:ख पिडाको नदी तर्दा , हात र साथ दिने पो सच्चा मित्र ।
मुक्तक - ३
आफ्नै मुटु जस्ता सन्तान , पखेंटा लाग्दा उडेर गए
मेरै छाती राजमार्ग बनाई , गन्तव्य तर्फ गुडेर गए
सन्तान ठूला भए भनें , हेर्छन् भन्नु गल्ती रहेछ
तर आज बदलामा मेरा , सारा खुसी चुँडेर गए .।
मुक्तक - ४
पिठ्यूँ माथी मलाई बोकी , पछ्यौरीले बान्थ्यौ आमा
मेलापात अनि घाँस दाउरा , आफूसँगै लान्थ्यौ आमा
तिम्रो मायाँ सम्झी ल्याउँदा , यस्तो लाग्छ अहिले मलाई
आफ्नो मुटुभन्दा पनि , मलाई प्यारो ठान्थ्यौ आमा ।
मुक्तक - ५
यो देशका प्रत्येक सन्तानलाई , देशको मायाँ हुनुपर्छ
देशलाई कतै चोट लाग्दा , उसको मन रुनुपर्छ
एकातिर संसारको सुख अर्को , तिर देशको माटो राखी
के रोज्छस् भनी सोध्दा ऊसले, देशको माटो छुनुपर्छ...।
- सामाखुशी, काठमाण्डौ ।