दर्पण तिमिल्सिना
ओस्लो, नर्वे
हेल्पिङ्ग ह्याण्ड्स फर नेपाल, नर्वेले नेपालका सामुदायीक विद्यालयमा अध्यनरत ६० जना बालबालिकाहरुलाई सहयोग गर्ने भएको छ। दुर्गम तथा पिछडिएका क्षेत्रमा रहेका सामुदायीक विद्यालयमा अध्यनरत गरिब तथा विपन्न बालबालिकाहरुलाई करिब ६ लाख नेपाली रुपियाँ बराबरको अति आवश्यक शैक्षिक सामाग्री बितरण गर्ने भएको छ।
संस्थाले आर्थिक अभावका कारण विद्यालय शिक्षा लिन कठिन भएका बालबालिकाहरुलाई सहयोग गर्न प्रस्ताव आव्हान गरेको छ। अध्यक्ष तसौवर खान तथा महासचिव सरला कटेल द्वारा आव्हान गरिएको प्रस्तावमा सहयोगबारे निश्चित मापदण्ड समेत तोकिएको छ। प्रस्तावमा भनिएको छ शारिरीक रुपले अशक्त बालबालिकाहरु तथा अन्य गैरसरकारी संस्था वा परियोजनाबाट सहयोग नभएका दुर्गम तथा पिछाडिएको क्षेत्रका विद्यालयलाई प्राथमिकता रहनेछन । त्यसैगरी एउटा सामुदायिक विद्यालय तथा गैरसरकारीको हकमा बढीमा १० जना मात्र हुनुपर्नेछ । विद्यार्थी स्वयंले व्यक्तिगत प्रस्ताव आवेदन गरेको खण्डमा आफू अध्ययनरत विद्यालय वा वडा कार्यालयबाट आर्थिक विपन्नताको सिफारिस समावेश गर्नपर्ने जनाएको छ। प्रति विद्यार्थी १० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री गर्ने संस्थाले जनाएको छ ।
सहयोग आवश्यकता भएका विद्यालयले नेपाली वा अंग्रेजी भाषामा A4 साइजमा अधिकतम ३ पृष्ठ सम्मको प्रस्ताव २०७७ मंसिर मसान्त अर्थात १५ डिसेम्बर २०२० सम्म संस्थाको ईमेल ठेगाना [email protected] मार्फत पठाउन आग्रह गरेको छ।
हेल्पिङ्ग ह्याण्ड्स फर नेपाल, नर्वे नेपालका बालबालिकाको शैक्षिक क्षेत्रमा सहयोग गर्ने उदेश्यले सन् २०१३ मा नर्वेमा रहेका नेपालीहरुले स्थापना गरेका थिए । नर्वेबासी नेपाली समुदायमा गैरराजनितिक रुपमा राम्रो प्रभाव पारेको यो संस्था गैरनाफामूलक सामाजिक संस्थाको रुपमा सन् २०१६ बाट नर्वेमा विधिवत रुपमा दर्ता समेत भएको छ। यस संस्थाले विभिन्न नेपाली चलचित्रहरुको प्रदर्शन र सदस्यता सहयोग शुल्क मार्फत उठेको रकमलाई नेपालमा पठाउने गरेको छ। साथै यस संस्थाले नेपालमा विभिन्न समयमा भएका प्राकृतिक एवं दैवि विपत्तिहरुमा समेत सहयोग गर्दै आएको छ।