" कति बेर गर्नु भा'को नि कम्ति कुरेँ मैले ?"
कुचुक्क मुख पार्दै छोरो च्यापेर गुनासो गर्दै ऊ गाडीभित्र पसेपछि मैले भित्रबाट ढप्काएँ । गाडी गुड्यो पृष्ठभूमिमा रामकृष्ण ढकालको गीत बजिरहेको थियो......
"जिन्दगीले यसरी धोका दियो कि...?"
" सबै कुरा चाहे जस्तो हुने भए तँ पनि त मेरै हुन्थिस ।'
" मैले नमान्या हो र ?" उसले पुराना कुरा उक्काई ।
" उतिखेर मैले भागुम भन्दा हाम्रो संस्कारमा छैन भनिस् अहिले खुब ....."
हामी दुवै दोषी थियौ सायद । बाआमाको सहमति खोज्दा कता भात मिलेन कता के मिलेन भने । खानदान र इज्जतले आफूखुशी गरिएन ।
गाडीलाई मोड कटाउँदै थिएँ जिन्दगीले थुप्रै मोडहरू काटिसकेको थियो दुवैको । ऊ कसैकी म कसैको भए पनि हामी पहिले जस्तै जिस्कन्थ्यौं । फोनमा वा भेटमा उसले मेरो परिवारको नालीबेली सोधेकी हुन्थी, निकै सरोकारी ।
"भाउजुलाई ठिकै छ नि ?"
" के ठिक भन्नू त्यो रोगीको ? सधै अस्पताल लग्नुपर्छ । त्यताको कुरै नगरौं बिर्सेर रसिलो भएको मन पनि खिन्न हुन थाल्छ । तैले बरू सही बूढो पाइस् !" ऊ चुपचाप थिई ।
"कहाँ जाने आज ?" प्रसंग मोडिदिएँ ।
" के जानूँ तपाईले कहाँ लैजान बोलाउनु भएको हो ?"
"छोरा निदायो ?"
पछाडि फर्केर हेर्दा निकै आकर्षक, मादक नजरले मुस्काउँदै थिइ । मान्छे नि साँच्चिकै अप्सरै छे । शून्य समयको फाइदा उठाइयो । भरपुर ठाउँहरू घुमियो । फोन, भिडियो कलमा जति जिस्किए पनि सामुन्नेमा व्यवहारिक कुराहरू भए ।
"उहाँसित नभएका सब चीज तपाईसित छ ।" यसो भनिरहँदा उसको अनुहार निकै चम्किलो देखिन्थ्यो ।
" मतलव ?"
"घर, गाडी अनि यस्तो रसिक स्वभाव ....."
जिन्दगीको खेल कल्ले जान्यो र ? मान्छे परिस्थितिको दास पनि हो आखिर । उसको लोग्ने, घर अनि काखभरीको छोरो मेरै सुझबुझको उपज थियो ।
विगतमा जे भए पनि प्रायश्चितमा म उसलाई सदैव तन, मन र धनले सहयोग गरिरहन्थेँ । केही उसका, केही मेरा कारणले हामी एक अर्काप्रति सधै समर्पित र जिम्मेवार पनि थियौं । ऊ झर्ने मोड आइपुग्यो । झरी ।
छोरो निदमै थियो । दुवैका गालामा चिमोटी दिएँ । कसले कहाँ कसरी धोका दियो भन्नू म अल्मल छु अझैसम्म । ट्र्याकमा उहीँ गीत रहेछ बज्दै थियो...
"जिन्दगीले यसरी धोका...."
- कल्लाबारी, पाल्पा ।
२०७७ जेठ २६