मुक्तक - १
कति मिठो हाँसो सोधिबक्सिन्छ हजुरले
मुटुमै बनेर पासो सोधिबक्सिन्छ हजुरले
क्षणभरमै लुटिए उमङ्ग सारा मेरा, अझै
के छ भनेर गुनासो सोधिबक्सिन्छ हजुरले ।
मुक्तक - २
सुत्दा पनि सपनीमा तिम्रै नाम गुन्न थाले
अल्झेला जालो जस्तै मनमा माया बुन्न थाले
गलत ठाँउमा टेक्दै गर्दा चिप्लिएला हजुर
घरमा एउटा राखी बाहिर अर्को चुन्न थाले ।
मुक्तक - ३
जसले जे गरुन् मलाई कसैको आस लाग्दैन
हजुरले गरेका ती कुनै कुरा बकबास लाग्दैन
प्रिय मुटु हजुर बिना धड्कन रोकिन्छ कि
कसैको नजर र माया मलाई खास लाग्दैन ।
मुक्तक - ४
निकाल्न नमिल्ने मुटुभित्र बनेको छ
हर्षित छु सुन्दर एउटा चित्र बनेको छ
प्यारो मान्छे मलाई भुलेर गए पनि झन
गाढा हुँदै मेरो प्रिय दुख्ने मित्र बनेको छ ।
मुक्तक - ५
नसकिने कहिल्यै गन्तव्य आउँदैन
खुसीको पल मनमा भय आउँदैन
अमूल्य जिन्दगीमा फर्केर आउने
त उहीँ याद हो तर समय आउँदैन ।
- बगनासकाली -९ पाल्पा ।
हाल : काठमाडौं ।