मुक्तक - १.
कुर्सी र पदको लागि झेला नगर्नुहोला
प्रतिगमन सच्याउन अबेला नगर्नुहोला
नेताज्यु, रिसको झोकमा अन्धो भएर -
देशलाई नै घोडाको तबेला नगर्नुहोला ।
मुक्तक - २.
सुन जति पगाले पनि पित्तल बन्दैन
आगोले कहिले पनि शितल बन्दैन
ब्वाँसोलाई जति नै धोई पखाले पनि -
ए ! हजुर कहिले पनि चितल बन्दैन ।
मुक्तक - ३.
ए ! हजुर टुटफुटतिर नलाग्नु होला
गुट अनि उपगुटतिर नलाग्नु होला
समातेर केन्द्रीय सदस्य बनाउला है -
बालुवाटारको रुटतिर नलाग्नु होला ।
मुक्तक - ४.
गोली ठान्थे, भ्रम त्यो खोका रै`छ
कुर्सी र पदमा रमाउने भोका रै`छ
सम्झेथे मैले खाँटी महान राष्ट्रवादी -
आखिर पानीको हजुर फोका रै`छ ।
मुक्तक - ५.
नक्चरोको हजुर , कुनै दवाई हुँदैन
आफ्नो बाहेक , अर्को पराई हुँदैन
रिसले आफ्नै घरमा आगो झोस्नेको -
यस्ता पापीको कहिले भलाई हुँदैन ।
~ अनुराग अरुण
महालक्ष्मी नपा, लुभु, ललितपुर ।
पत्रकार सतिश चापागाईंको अभिनय रहेको यो म्युजिक भिडियो हेर्नुहोस।