जब एउटा स्त्री शरीर
फगत धर्ती बनिदिन्छ ।
उर्बर धर्ती !
अनेकौं बीउ कल्बिउँ
रोपिन छरिन हतार गर्छन् ।
उम्रन कोही चाहँदैन ।
कुनै बीउ चाहँदैन ।
मलिलो माटोमा
उमार्न नचाहेर रोपिएका
अनेकौं बीउहरू
सायद सबैले बीउको
प्रकृति बिर्से ।
मान्छेले बिर्सनु स्वभाविकै छ
आनन्दको प्रकृति हो बिर्सनु !!
मलिलो धर्तीले
बीउको सानिध्यतामा
पिपलले ढुङ्गा फोरेको सम्झ्यो कि !
नियोजित अवरोध छिचोल्दै
धर्तीमा बिजाङ्कुरण भएरै छाड्यो ।
जोत्न न कुनै साइत जुर्नु पर्यो ।
न त सामाजिक प्रचार र शैली
न बाजा न जन्ती न सिन्दुर ।
जब बीउबाट बिरुवा निस्क्यो ।
उर्बर र आकर्षक धर्ती
ऐलानी र पर्ती या चाहारमा
बदलियो ।
कमाउने मोही र जग्गाधनी पनि
स्वीकार गर्न समर्थ भएनन् ।
धर्ती न हो
रुखा र सुख्खामा पनि
बिरुवाको जरा मर्न दिइन
आफ्नो गर्भको ।
उसलाई मालीको चिन्ता पटक्कै भएन ।
हिजो त्यही माटोमा
धेरै बाटा जोडिए ।
घर घँडेरीका प्लटिङ्ग भए
मनको नक्सामा ।
हाकिमदेखि पियनसम्म
हैसियतले जोडिनेदेखि
बाध्यताले पछ्याउनेहरू पनि
लालायित भए ।
ऊ कसैका लागि बञ्जर
पथ्थर हुन सकिन ।
आखिर ऊ धर्ती न थिई ।
उर्वर धर्ती ।
आज ऊ बगर भएकी छ ।
एउटा गन्हाउने झारको बोट उमारेर ।
ऊ असली माली खोज्छे ।
मान्छेहरु बोटको मूल बीउ खोज्छन् ।
हिजो जोत्न हतार गर्ने हलीहरू
आज गुमनाम भएका छन् ।
ऊ फेरि बीउ उमार्ने कल्पनादेखि पर
उम्रेको बिरुवाको रक्षामा तल्लिन छ ।
किनकी प्रकृति हो !
ऊ हेर्दैछे पुरुषको असली चित्र र चरित्र ।
उर्वर जमिनलाई बगर बनाउने
सामाजिक आँखामा ऊ
पतिता हुन सक्छे ।
हिजो र्याल चुहाउने जिब्रोहरू
आज उसैमाथी थुक्छन् ।
किनकी आनन्दको
असली चरित्र बिर्सनु पनि हो ।
बीउको डि एन ए खोज्न
भौतारिनेहरुसँग एउटा प्रश्न
धर्ती जुनसुकै होस्
बीउ पाएपछि उमार्छ
उमार्नु धर्तीको धर्म हो कि होइन ?
जुनसुकै जातको बीउ होस्
बिरुवा बर्णशंकर कसरी हुन सक्छ ?
आज बीउको सजीव
चित्र त उसँग छ ।
तर बिचित्रको चरित्रले जीवन उपहासमय
चलचित्र झै विज्ञापित भएको छ ।
- कोहलपुर ३, बाँके
पत्रकार सतिश चापागाईंको अभिनय रहेको यो म्युजिक भिडियो हेर्नुहोस।