मुक्तक -१
सुख सोचे, सुखै जिन्दगी !
दु:ख सोचे, दु:खै जिन्दगी !!
सुख-दु:ख पर्छ-टर्छ, होशियार चै हुनैपर्छ !
संघर्षको दुई थरी, मुखै जिन्दगी !!
मुक्तक -२
पसिनाले श्रमिक बरू, आनन्दमा बाँचेको छ
रूपियाँले मालिक फेरि, मनमा तनाव साँचेको छ
जे जस्तो होस जिन्दगानी, आ-आफ्नै हो कर्म खानी
सत्कर्मीको साँचो जीवन, सधै खुशीमा नाचेको छ !!
मुक्तक - ३
अनसन बस पन्ध्र चोटी, जायज कुरा छल्न सक्छन्
पदमा पुग्न पाए भने, तालुमा आलु फल्न सक्छन्
समृद्धि सधै वैलीरहन्छ, बेथिति मात्रै फैलीरहन्छ
नाङ्गै हिडूँ न सडकमा, चर्चा उत्तिकै चल्न सक्छन् ।
मुक्तक - ४
फूलहरू फल बनेर, लटरम्म भै फल्छ पक्कै
नश्वर देह मिति सकी, सधैका लागि ढल्छ पक्कै
फल्नू र ढल्नू आफ्नै रिती, बाँडी राखूँ न मनले प्रीति
अजम्बरी भए माया, जुगौं जुग नै चल्छ पक्कै ।
मुक्तक -५
पैसाले ठाउँ पाएपछि, बदलीदिन्छ मनसम्म
सबै छाडेर पुग्छ मान्छे, टुप्पी कसेर धनसम्म
बैमनष्यता अघि सार्छ, इमान्दारिता पछि पार्छ
किन आउँथ्यो न्याय-निसाफ, निमुखाको आगनसम्म ?
✍ गोम बिक्रम
कल्लाबारी, पाल्पा ।
२०७७ पौष २१