Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

नदिसरी बग्ने मेरा चाहाना यी सुकाउँछु - मीरा तिमिल्सिना "धरा" (५ मुक्तकहरू)

नदिसरी बग्ने मेरा चाहाना यी सुकाउँछु - मीरा तिमिल्सिना "धरा" (५ मुक्तकहरू)

नेप्लिज डायस्पोरा

२६, पौष २०७७
images
नदिसरी बग्ने मेरा चाहाना यी सुकाउँछु - मीरा तिमिल्सिना "धरा" (५ मुक्तकहरू)

 

मुक्तक - १

बालबच्चा जन्माउँदा घिरौंला झैँ नाक भयो
बुढ्यौलीमा मलाई माया अमिलो दाख भयो
बाँझोपनको लाञ्छानामा एकाथरी झिर रोप्छन्
आमा भएँ खुसी भएँ आज पीडा लाख भयो ।

मुक्तक - २

पाइदैन माया किन्न जति कर्जा लिए पनि
जोडिँदैन टुक्रा मुटु जति उर्जा दिए पनि
समयमै सोच्नु पर्ने नटुक्रने टुक्रिसक्यो
पश्चाताप नहोला अब जहर पिए पनि ।

मुक्तक - ३

नबगाई यी आँसुलाई आँखैमा लुकाउँछु
दु:ख दिने भुलिदिन्छु आफैलाई दुखाउँछु
म दुखेर सारा विश्व हाँस्न सक्छ भनेदेखि
नदिसरी बग्ने मेरा चाहाना यी सुकाउँछु ।

मुक्तक - ४

मन छैन घरभित्र आगो सल्काउन
लागि परे आफ्ना भन्ने वैरी पल्काउन
छातिभित्र हृदयमा मात्र देशको माया
कर्म गरौं खाँचो छैन ओठमा झल्काउन ।

मुक्तक - ५

मूर्ख ठान्छन् सजिलो छ आमा हुनलाई
सहजै छ उनका लागि दु:ख धुनलाई
बाजेबजै पति सन्तान मर्यादामा राखी
गर्छिन् काम फुर्सद छैन पीडा फुनलाई ।

- भरतपुर -६, चितवन ।

 

पत्रकार सतीश चापागाईंको मार्मिक कविता "विमानस्थलमा बा!" भिडियोमा। एकपटक अवश्य हेर्नुहोस !

 

 

 

 

images
प्रकाशित मिति :पौष २६, २०७७ आइतवार - ०८:१८:११ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend