मुक्तक -१
वीर पुर्खाका स्तम्भ ढाले ठिक लागेन
फटाहा भए देशका पाले ठिक लागेन
राजतन्त्र नै सहिथ्यो जस्तो लाग्न थाल्यो
न'त काङ्ग्रेस न एमाले ठिक लागेन ।
मुक्तक -२
जीउ ज्यानको बाजी लगाई आएको गणतन्त्र
रगतको खोलो बगाई आएको गणतन्त्र
अहँ परिवर्तन हुँदै भएन नेताहरूको हातबाट
सदियौंको राजतन्त्र भगाई आएको गणतन्त्र ।
मुक्तक -३
जबसम्म प्रशासनबाट दोषीको समर्थन हुन्छ
तबसम्म पीडितकै अचानोमाथि गर्धन हुन्छ
हत्याहिंसा,थिचोमिचो बलात्कारले सीमा नाघ्यो
हे भगवान ! यो देशमा कहिले परिवर्तन हुन्छ ?
मुक्तक - ४
धेरै कुराहरू आफैमा सोच विचार गर्नुपर्छ
तिखा वचनहरू सहँदै समय पार गर्नुपर्छ
गल्ती होस् वा नहोस् मुर्खको सामु आफूले
"बिराएँ हजुर !" भन्दै उल्टै नमस्कार गर्नुपर्छ ।
मुक्तक - ५
कसो गरौं र कता जाउँ भइरहेको छ।
आफ्नै गाउँ बिरानो ठाउँ भइरहेको छ।
जिविको धान्न कठिन भो लकडाउनले,
ढुंगा खाउँ कि माटो खाउँ भइरहेको छ ।
-असन्तुष्ट जलन, दाङ
पत्रकार सतीश चापागाईंको मार्मिक कविता "विमानस्थलमा बा!" भिडियोमा। एकपटक अवश्य हेर्नुहोस !