Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

लाछी म नै हैन र? -डिल्लीराज अर्याल

लाछी म नै हैन र? -डिल्लीराज अर्याल

Madhuri

१५, माघ २०७७
images
लाछी म नै हैन र? -डिल्लीराज अर्याल

माटो फल्छ जहाँ सुनै सुन बनी बेसी तराईभर
ढुङ्गो फुल्छ जहाँ हिरा सुन बनी ऐश्वर्यले सुन्दर
पानी बग्छ जहाँ नदी नद बनी त्यै देश मेरो घर
माग्ने बन्न तयार बन्दछु भने लाछी म नै हैन र?

पाती झार पवित्र बन्छ जसको आराध्यमा अर्पिन
दूबो झार पवित्र बन्छ जसको आराध्यलाई दिन
थुप्रै झार र घाँसपात जसका स्वीकार्दछन् ईश्वर
त्यो धर्ती पनि बिर्सिई बसिरहे लाछी म नै हैन र?

बारी, खेत सिंगार्न सक्षम नदी बग्छन् जहाँ सल्सल
चाँदी, स्वर्ण बनाउँदै गिरि सधै हुन्छन् जहाँ झल्मल
पाखा, पर्वत, टाकुरा पनि जहाँ छन् सुन्दरै सुन्दर
जोगाएर म राख्न सक्दिन भने लाछी म नै हैन र?

पूरै फाँट सिंचेर पार्न हरियै खोला नदी तत्पर
आफै पात छरेर वृक्ष लहरा पार्छन् धरा उर्वर
धर्ती गर्छ सदैव अन्न सहजै उब्जाउने तर्खर
जानी खालि विदेश ताक्दछु भने लाछी म नै हैन र?

पाटा सुन्दर बन्दछन् अलिकता पोखे यहाँ जाँगर
माटाकै लिपपोतमा घर सधै हुन्छन् यहाँ सुन्दर
बेसी झुल्दछ,गाउँ फुल्दछ नयाँ बान्कीहरूमा तर
बिर्सी सुन्दर देश बिक्दछु भने लाछी म नै हैन र?

छन् हाम्रै गुण,सीप,पद्धतिहरू आला,पुराना सब
सेवा भाव, परोपकार, ममता, आत्मीयता, गौरव
हामी ध्यान,विवेक,मेल-महिमा, सम्बन्धमा सुन्दर
जानी सुन्दरता बिगार्दछु भने लाछी म नै हैन र ?
पाल्पा, काठमाण्डौं

 

पत्रकार सतीश चापागाईंको मार्मिक कविता "विमानस्थलमा बा!" भिडियोमा। एकपटक अवश्य हेर्नुहोस !

images
प्रकाशित मिति :माघ १५, २०७७ बिहिवार - २३:१२:५१ बजे

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend