स्वदेशको शसक्त संचार माध्यम कान्तिपुर टेलिभिजनमा 'ऐना' नामको एक कार्यक्रम शुरु भएर आँठौ श्रृंखलासम्म प्रशारण भईसकेको छ । गत माघ ७ गतेबाट शुरु भएको यो कार्यक्रम नेपाली समय अनुसार हरेक बुधबार राती नौ बजे प्रशारण हुने गर्दछ । कार्यक्रमको घोषणा सभामा बताइए अनुसार कार्यक्रम २६औं श्रृंखलासम्म चल्ने छ । यस कार्यक्रमले हाम्रो मातृभुमी नेपाल देश र समाज कुन अवस्थामा छ त्यसलाई घाम झै छर्लंग गर्ने जमर्काे गरेको देखिन्छ । बास्तवमा यो कार्यक्रमलाई मुलुकको सामाजिक अवस्थाको ऐना भन्न सकिन्छ ।
ऐनाका हरेक श्रृंखलाहरु हेर्दा त्यहाँ अशिक्षा, अन्धविश्वास, दुःख, दर्द, पीडा, अन्याय, अत्याचार, असमानता, राज्य पक्षको लाचारी लगायत कानूनी राजको उपहास भेटिन्छ । २१औं सदीको आधुनिक विश्व समाजका लागि भने अन्धकारमा जकडिएको अवस्थाका हाम्रा यी घटना र विषयहरु लज्जाका मुल श्रोतहरु हुन् । आजको जस्तो आधुनिक परिवेशमा पनि आखिर किन र कसरी यस्तो भयानक तस्वीर आइरहेको छ हाम्रो समाजको? न्याय पाउनु हरेक नागरिकको आधारभुत अधिकार हैन र ? हामीलाई यस्ता दुर्दान्त घटनाहरुले वास्तवमै पिरोल्न छाडिसकेकै हो त? के हामी नेपालीहरुले अब मानवीय संवेदनहीनताको पराकाष्ठा पार गरिसकेकै हौं त? के अब हामीहरु अरुको पीडा र दर्दमा, अनि अज्ञानताको भवसागरमा डुबिरहेका आफ्ना बराबर उमेर समुहका नेपालीहरुका कैयन दुर्दान्त अवस्था र मर्मलाई वेवास्ता गरेर वा कुल्चिएर हिड्न सक्ने निर्दयी समाजको सदस्य बनिसकेकै हौं त?
यी तमाम सवालहरुको उत्तर खोज्न सबैभन्दा पहिले हामीहरुले ती कार्यक्रमहरु हेर्न थाल्नु पर्नेछ । अब यसपछि आउने कार्यक्रमहरु मात्रै हेरेर पुग्दैन, ऐना नामबाट युटुबमा उपलब्ध अहिलेसम्मका सवै आठैवटा श्रृंखलाहरु हेर्न पर्ने हुन्छ । अनि, ती पीडा र दर्द व्यहोरिरहेका हाम्रा हरेक नेपाली दाजुभाई दिदीबहिनीहरुको ठाउँमा आफुलाई राखेर हेर्न सक्नु पर्छ ।
नेपालमा धेरै टेलिभिजन कार्यक्रमहरु उत्पादन हुने गरेका छन् । स्वदेशका महत्वपूर्ण सबै समाचारहरु त हेरिन्छन् नै ती बाहेक केही यस्ता कार्यक्रमहरु छन्, जसलाई संसारमा जहाँसुकै रहे बसेपनि नेपालीहरुले हेर्न छुटाउन सकिन्न । नेपाल आइडल नामक रियालीटी शो, दिशानिर्देश, टफ टक, फायर साइड, तमसोमा ज्योर्तिगमय, आदी टक शो र सिधाकुरा जनतासँग आदि । यिनै महत्वपूर्ण कार्यक्रमहरुमा अब एउटा नयाँ कार्यक्रम थपिएको छ । जस्ले हाम्रो नेपाल देशको आर्थिक, सामाजिक, विभेद, भेदभाव, अन्धविस्वास र अन्याय अनि अत्याचारको एउटा सांगोपांगो तस्वीर प्रस्तुत गरिरहेको छ ।
मुलतः ऐनाले समाजमा व्याप्त अन्धविश्वास, अन्धकार, अज्ञानता, अन्याय, अशिक्षा, अव्यवस्था लगायतका विविध सवाल र विषयहरुलाई जस्ताको तस्तै प्रस्तुत गरिरहेकोछ । यो कार्यक्रम यत्तिकै सम्भव भएको छैन । यसमा एउटा ठुलो टिमले अनवरत काम गरिरहेको देखिन्छ । कार्यक्रममा घटनाहरुको खोज र अनुसन्धानमा पर्याप्त रिसर्च भएको देखिन्छ । एउटै कार्यक्रम र एउटै विषय सवालहरुमा पनि मेचीदेखि महाकालीसम्म, तराईदेखि हिमालसम्मका विविध एवं धेरै वटा घटनाक्रमहरुका बास्तविक पिडित वा भनौ भिक्टीमहरुलाई देख्न, बुझ्न र थाहा पाउन सकिन्छ ।
ऐनाको पहिलो र दोश्रो श्रृंखलाले चुडिएका कोपीला शीर्षकमा बलात्कार र त्यसपछीको बर्बर हत्या जस्ता गम्भिर अपराधको विषय सवाललाई महत्वका साथ उठाएको छ । तेश्रो श्रृंखलाले बुढेशकालमा ज्येष्ठ नागरिकहरुले व्यहोरिरहेका समस्याका कथाहरु मर्मष्पर्षी ढंगले प्रस्तुत गरेको छ भने चौथो श्रृंखलाले दाइजोका नाममा विवाहमा हुने मोलतोल, अपहेलना, जघन्य हिंसा जस्तै, जलाउने र हत्यासम्मका अपराधहरुको कथाव्यथा छ । पढेलेखेकै शिक्षीत परिवारमा पनि दाइजोका कारण कसरी महिलाहरु घरेलु हिंसाको चपेटामा पिल्सिरहेका छन् र कसरी उनीहरुलाई जिउँदै जलाइदैछ पिडितहरुको आवाज सहितको प्रस्तुती भेटिन्छ ।
त्यसैगरी, पाँचौ श्रृंखलामा गुमनाम परदेशीहरुका कथा व्यथा र पीडाहरुलाई समेटिएको छ भने छैटौं श्रृंखलामा बालखैमा विहेको बोझ शिर्षक दिएर बाल विवाहबाट उत्पन्न समस्याहरुको मर्मष्पर्षी घटनाहरु समेटीएका छन् । सातौं श्रृंखलाले हिंसामा महिलाहरु कसरी घरमै असुरक्षित छन् भन्ने गम्भिर मानवअधिकारको सवाल समेटेको छ भने आठौं श्रृंखलाले हेलामा मानसिक विरामी, खोरदेखि सडकसम्मको हृदयविदारक अवस्थालाई प्रस्तुत गरेको छ ।
आजसम्म प्रशारित विभिन्न यी ८ श्रृंखलामा विविध ७ गम्भिर सवालहरुले ठाउँ पाएका छन् । हरेक श्रृंखलामा करिब आधा दर्जनभन्दा बढी पीडित पक्षहरुका घटनाहरुमाथि स्थलगत अध्ययन गरिएको देखिन्छ । रिसर्च र छायांकनकै मात्रै कुरा गर्ने हो भने पनि यसमा दर्जनौ प्रोफेशनल युवा युवतीहरु आफ्नो पुरा मिहेनतका साथ लागिपरेर काम गरिरहेका देखिन्छन् । त्यसमध्ये पनि, यो पक्तीकारले अत्यन्तै फरक भेटेको यो कार्यक्रमको प्रस्तोता विश्व प्रकाश शर्माको यस विषयप्रतिको गम्भिर लगाव हो ।
हाम्रो समाज र देशको यस्तो दयनीय परिस्थिीतिमा परिवर्तनका लागि राजनीतिक दलहरुको भुमिका के कस्तो हुन पर्दथ्यो? दलको प्रतिधित्व गर्दै सरकारमा पुगेका राजनीतिक खेलाडीहरुले खेल्नु पर्ने भुमिका, लिनुपर्ने दायित्व र कर्तव्यबोध किन हुन सकेन? लोकतन्त्र प्राप्ती पछिको यति लामो समयसम्म पनि यी समस्याहरुमाथि किन ठोस उपलब्धीमुलक काम हुन सकिरहेको छैन? आदि कारणहरु खोज्न प्रस्तुतकर्ताको हैसियितमा युवा राजनीतिज्ञ शर्माले राजनीतिक दलहरु, तिनका नेता र कार्यकर्ताहरुलाई नै झकझक्याउने उद्देश्य लिएको देखिन्छ ।
प्रस्तोताको विषयलाई लिएरु यदाकदा सामाजिक संजालहरुमा फरक ढंगबाट टिकाटिप्पणीहरु गरेको देखिन्छ । जस्तै: 'यति बेला यो कार्यक्रमको प्रस्तोतामा किन विश्वप्रकाश शर्मा ?', 'देश चलाउने सम्भावना बोकेको, होनहार ठानिएको एउटा निस्ठावान युवा राजनीतिज्ञले जाबो टेलिभिजन कार्यक्रमको प्रस्तोता भएर आउने हो ?', 'मुलुक कति गम्भिर राजनीतिक संकटबाट गुज्रिरहेको बेला प्रमुख प्रतिपक्षी दलको सम्भावनायुक्त युवा राजनीतिज्ञले यस्ता झिनामसिना कार्यक्रम चलाएर बसेको पटक्कै सुहाएन' आदि आदी ।
लोकतन्त्रमा यस्तो क्रिया प्रतिकृयालाई सामान्य रुपमै लिनुपर्ने हुन्छ । तर त्यस्ता प्रतिकृयाहरु सतही र पूर्वाग्रही रुपमा आउनु हुन्न भन्ने लाग्दछ । व्यक्तिगत रुपमा शुशासन, शान्ति, न्याय, मानवाधिकार र लोकतन्त्रका पक्षमा करिब १७ वर्ष नेपालमा सकृय सामाजिक अभियन्ताका रुपमा कृयाशिल म जस्ता एक साधारण मानिसको बुझाई भने अलिक फरक छ । आजसम्म राजनीतिक पात्रहरुले यी र यस्ता विषय सवालहरुलाई गम्भिर रुपमा चासो, चिन्ता प्रकट गरी समाधानका लागि महत्वका साथ उपयुक्त भुमिका निर्वाह गर्न नसकेकै कारण आज २१औं शदीको सभ्य ठानिएको समाजमा पनि दुर्दान्त कुकृत्यहरु सम्भव भैरहेका छन् । दण्डहीनता मौलाईरहेको छ । र राजनीतिक दल र तिनका नेता कार्यकर्ताहरुलाई नेपाली समाजको यो ऐनाले नराम्रोसँग जिस्क्याईरहेको छ, गिज्याइरहेको छ ।
लोकतन्त्रमा राजनीतिक दलहरु परिवर्तनका संवाहक हुन सक्नु पर्दछ । राजनीतिक दलहरु भित्रैबाट प्रतिनिधिहरु निर्वाचित भएर सरकारमा पुग्ने हुन् । हरेक राजनीतिक दलहरुका आआफ्ना घोषणा पत्रहरु छन् । आजका दिनसम्म ती तमाम घोषणा पत्रहरुमा पनि यी गंभिर सामाजिक सवालहरुलाई महत्व दिएर किटानीका साथ सुधारका लागि काम गर्ने ठोस कार्य योजना प्रस्तुत गरिएको देखिदैन । अनि तत् तत् दलहरुबाट निर्वाचित भएर सरकारमा पुगेपछि पनि यस्ता विकृती विसंगतिहरु उपर उचित समाधानका लागि प्रभावकारी कार्यक्रम कार्यान्वयवन गरेको देखिदैंन ।
त्यसैले, विश्व प्रकाश शर्माले एक असल राजनीतिज्ञमा हुनु पर्ने आफ्नो कर्तव्य निर्वाह गर्न कम्मर कसेर लाग्ने अठोट गर्नु कुनै गल्ती या कमजोरी होइन । बरु, सामाजिक रुपान्तरणका लागि राजनीतिले विराएको बाटो पहिल्याउन उनको संलग्नताले सहयोगी भुमिका खेल्न सक्छ । यस्तै सकारात्मक प्रतिफलको आशा लिएर उनले कार्यक्रममा संलग्न भएको सहजै अनुमान लगाउन सकिन्छ । कार्यक्रमको पहिलो श्रृंखलामै उनले बताएका छन् कि राजनीतिक मुद्दाहरु सधै प्रधान रहिरहे । राजीतिक परिवर्तनहरु त धेरै भए । तर समाज रुपान्तरणको पाटो भने सधै छुटिरहे । परिवर्तन ल्याउनु पर्ने एउटा ठूलो मुद्धा जहींँकोतहीं किनारा लागिरहयो ।
बिकास निर्माणका संरचानाहरु पर्याप्त बन्दैमा मुलुकमा न्याय, शान्ति र सुशासनको प्रत्याभुती हुने हैन । सामाजिक एवं मानव विकासका हरेक क्षेत्रमा हामी नेपालीहरुको अवस्थामा परिवर्तन ल्याउन अझै धेरै गर्न बाँकी छ । यो शिक्षा र चेतनाको स्तरको कुरो हो र विस्तारै समाधान हुँदै जानेछ भनेर नजर अन्दाज गरिरहने विषय पनि यो हैन । शिक्षित र सम्पन्न भनिएकै घर परिवारमा समेत अन्याय र अपराधका दर्जनौ घटनाहरु घटिरहेका छन् । त्यसैले, यो मुद्धालाई राजतीतिक दलहरुले पनि अब विशेष महत्वका साथ उठाउन सक्नुपर्छ ।
हाम्रो समाजले, संस्कृतिले, कथित धार्मिक अन्धविश्वासले, न्याय र प्रशासनले अनि राजनीति र अर्थ व्यवस्थाको कमजोरीले गर्दा समाजमा अवस्था जटील बन्दै गएको छ । प्रतिफलका रुपमा पिडित हजारौ नेपालीहरुलाई न्याय प्रदान गर्न जरुरी भैसकेको छ । समाज रुपान्तरणको लागि राष्ट्रिय जीवनका सबै क्षेत्रहरुबाट विशेष पलह र भूमिका खोज्नलाई अभिप्रेरित गर्न यो कार्यक्रम सफल हुने आशा गर्न सकिन्छ । विश्वप्रकाश शर्मा लगायत ऐनाको सम्पुर्ण टिमको यो प्रशंसनीय कार्यको लागि हार्दिक धन्यबाद एवं शुभकामना छ ।