Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

बाँदर (लघुकथा) -त्रिलोचन ढकाल

बाँदर (लघुकथा) -त्रिलोचन ढकाल

नेप्लिज डायस्पोरा

३, चैत्र २०७७
images
बाँदर (लघुकथा) -त्रिलोचन ढकाल

 

बाँदरको हुल आएको थियो । हुलले मकै, केराउ, भटमास, कोदो, आदि सारा अनाज खाइदियो । एक डेढ वर्षसम्मका मेवाका रुखै चपाईं दियो । कोपी, ब्रोकाउली, बन्दा, टमाटर, रायोकाे साग सबै च्यातेर धुजा धुजा पारेर छिरलिदियो । महिला र बालबच्चालाई ज्यान जोगाउनै मुस्किल भयो । सेरोफेरोमा आतङ्क फैलियो ।

सूर्यको घरमा कृत्रिम बन्दुक रहेछ । पड्काइ दिए । बाँदरहरूले यसो फर्केर हेरे । भागेर गएनन् ।

"मर्कटले त हैरान पार्यो हजुर ! त्यसबाट बच्ने उपाय छैन ? सूर्यले हैरान भएको लवजमा बाँदर विज्ञसँग सोधे ।

"उपाय किन नहुनु । संसारमा नष्ट गर्न वा नियन्त्रण गर्न नसकिने केही पनि छैन ।" विशेषज्ञले जवाफ दिए ।

"अरू अहिले चाहिएको छैन । बाँदर कसरी तह लाउने होला ? बताइ दिनु पर्यो ।"

"पाइने भए त मारेर रुखहरूका फेदमा गाडी दिन हुन्थ्यो । त्यसो गर्दा बोटबिरुवाहरूलाई पनि उच्चस्तरको मल प्राप्त हुने थियो ।"

"यो त भएन । बाँदर मार्न प्रतिबन्ध छ । अर्कै उपाय भन्नुहोस् न ।"

"ल सुन्नु होस् ! सयौं बिघा वा रोपनी जङ्गललाई अग्लो फलामे बारले घेरा हाल्नुपर्छ । सेरोफेरोका बाँदर जति समातेर ल्याउनुपर्छ । सबैलाई त्यही खोरभित्र थुनेर राख्नुपर्छ । खानाको व्यवस्था त्यहीँभित्र गरी दिनुपर्छ । "

"विशेषज्ञज्यू पनि ! बाँदर भैँसी हो र ? बारभित्र बसिराख्ने ।बाँदर त बारमा चढेर वा फड्केर भागिहाल्छ नि ।"

"भुइँबाट फड्कन नसक्ने गरी अग्लो बनाउनु पर्छ बार । फड्कने सम्भावना भएका, बारको नजिकैका रुखहरू हटाई दिनुपर्छ । बारमा झट्का दिने स्वभावको विद्युत प्रभाव गरि दिनुपर्छ । भित्र मान्छे हुँदैनन् । बाहिरबाट मान्छे बारको सम्पर्कमा जान नसक्ने गरी होचो तारबार लगाइ दिनुपर्दछ ।"

"त्यत्रो रकम कहाँबाट ल्याउने नि ?"

"मन्त्री प्रधानमन्त्रीलाई अर्बौं अर्ब भ्रष्टाचार गर्न पुगेकै छ त । बार बनाउन कति खर्च लाग्छ र ! आँट हुनु पर्यो ।"

"क्या बात विशेषज्ञज्यू ! आखिर विशेषज्ञ नै पर्नुभयो ।"

"ए ! पख्नुहोस् पख्नुहोस् । कुरा सकिएको छैन । बाँदर हेर्न पर्यटकहरू आउँछन् । उनले काटेको टिकटबाट करोडौँ रुपयाँ आम्दानी हुन्छ । जङ्गलभित्र रहेका सिंह, बाघ, चितुवा, ब्वाँसा, स्यालहरूलाई खाना पनि हुन्छ ।"

यस्तो भए त किसानको खेतीबाली जोगिने भयो । गोठका बाख्रापाठा पनि बाँच्ने भए ।

- आनन्दआश्रम, स्याङ्जा ।
०७७ माघ १९

images
प्रकाशित मिति :चैत्र ३, २०७७ मंगलवार - २१:१०:१९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend