मुक्तक -१
जात धर्म भन्नु केवल पाखण्डको रूप हो यो
अकर्मण्य विभेदको झन् गहिरो कूप हो यो
मग्मगाउँछ मानवता सौजन्य र शिष्टतामा
समभावपूर्ण निष्ठा सुगन्धित धूप हो यो ।
मुक्तक -२
आशिर्वाद सन्ततिका निम्ति गाली नभैदिए
आफ्नै शान, मान निम्ति झूटो ताली नभैदिए
फैलन्नथ्यो ईर्ष्या, अहम् र द्वेषको प्रदूषण
हुन्थ्यो संसार स्वच्छ सुन्दर मान्छे जाली नभैदिए ।
मुक्तक -३
मान्छे किन आफ्नै सुख शान्ति मात्र गुन्छन् हजुर
ढुङ्गा पनि संवेद्य भै पग्लिएर रून्छन् हजुर
सहाराको बदलामा बृध्दाश्रम पुऱ्याइन्छन्
जन्मदिने आमाबुवा किन भारी हुन्छन् हजुर ।
मुक्तक -४
इष्टमित्र आफन्त छन् मतलवका यार यहाँ
मतलवकै निम्ति गर्छन् देखावटी प्यार यहाँ
हिँड्नुपर्छ टेकी हर्दम् खुकुरीको धार माथी
साह्रै दु:ख, दर्दमय छ जिउनुको सार यहाँ ।
मुक्तक -५
सर्पले झैँ डस्छन् मान्छे अझ कति डसाउनु छ
शत्रुजस्तै हाँस्छन् मित्र अझ कति हँसाउनु छ
काँडा धेरै फुले घर परिवार समाजमा
अब यही काँडामाथि फूलको बस्ती बसाउनु छ ।
- गजल गुँड, नेपाल हाल : आयोवा अमेरिका ।