Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

तिम्रो इज्जत त जता पनि, पैसाले पो ढाकेकोछ - गोम बिक्रमका ५ मुक्तक

तिम्रो इज्जत त जता पनि, पैसाले पो ढाकेकोछ - गोम बिक्रमका ५ मुक्तक

नेप्लिज डायस्पोरा

१७, चैत्र २०७७
images
तिम्रो इज्जत त जता पनि, पैसाले पो ढाकेकोछ - गोम बिक्रमका ५ मुक्तक

मुक्तक -१


नजिक भए ओत दिने, उस्तै उस्तैको 'छाते' भएछौ
टेबुलैमुनी हात हुन्छ, क्या मजाको 'भाते' भएछौ
बेवकूफहरु बढाइरह्यौ, सज्जनहरु घटाइरह्यौ
पैसाबिना चल्ने होइनौ, साँच्चैको 'एकहाते'भएछौ ।


मुक्तक -२


विवशताले जता पनि, ठक्कर मात्र दिंदो रैछ
चोखो मायामा मर्म पारी, मुटुमा बाण रोपिँदो रैछ
सपना सुन्दर सजाए नि, मनमा आशा जगाए नि
धनले गाँठो पारेपछि, जसको नि मन बदलिंदोरैछ ।


मुक्तक -३


सुनको थालमा हिरा पस्की, तिमीले नि खान्नौ हो‍ला
कमाएको सम्पत्ति सब, जाँदा कुम्ल्याइ लान्नौ होला
बन्छौ किन न्यायको मूर्ति, देखाएर धनको फूर्ति
धनमै कसुर लुकाएर, जिउँदै स्वर्ग जान्नौ होला ?


मुक्तक -४

हुने नहुने कुराहरू, पैसैले सब सिक्दा रैछन्
जस्तो ठाउँमा जे गरे नि, पैसैले सब टिक्दा रैछन्
नदेखूँ भन्ने लागे पनि, देख्नै पर्ने अचम्मै छ नि !
मै हुँ भन्ने 'गाँठवाला' नि, पैसैले सब बिक्दा रैछन् ।

मुक्तक -५


लाउनू किन फोश्रा गफ, उल्फाका गुड्डी हाँकेकोछ
सज्जनलाई पाखा पारी, झुक्क्याएरै जाकेकोछ
कहिले आफै नाङ्गिनेछौ, सबका सामु उदाङ्गिनेछौ
तिम्रो इज्जत त जता पनि, पैसाले पो ढाकेकोछ ।

✍ गोम बिक्रम कल्लाबारी, पाल्पा ।
२०७६ जेठ २५

images
प्रकाशित मिति :चैत्र १७, २०७७ मंगलवार - २०:२६:१५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend