शार्दूलविक्रीडित
मैना चैत र सत्रको दिन थियो दुर्दैव दुर्दान्तको
बाबा प्राण उछिट्टिने गजबको आएर संयोग त्यो
आमा दुई तथा छ भाई बहिनी उद्धार गर्ने लय
भत्क्यो बिग्रनु दैव हात छ यहाँ ज्योतिष बन्ने तय ।।१।।
क्षेत्री बालकुमार खप्छ ननिको बेहाल बालापन
भोगेँ कष्ट अनेक चोट गहिरा दिन्थे सदा क्रन्दन
सानो बालक थें कठै हजुरले छोडेर हिँड्दा बुवा
आमा भाइ कसो समाल्न सकुँला धर्केर बैनी रुँदा ।।२।।
क्षेत्रीका कुल खानदान घरमा बाबा बन्यौ ज्योतिषी
राम्रो ख्याल गरेर नै जतनले राख्यौ दुवै श्रीमती
बाजेको नसुनी कुरा हजुरको इच्छा गयो शास्त्रमा
पढ्दै वेद पुराण ज्योतिष बन्यौ सेवार्थको मार्गमा ।।३।
मेरा बा किन दुःखको सफरमा छोडेर जानू भयो
बच्चाले कसरी सुसार घरको गर्ला भनी भुल्नु भो
कालो बादलले अचानक त्यहाँ चट्याङ बर्साउँदा
बाबाले पल एक देर नगरी त्यो प्राण छोडी दिँदा ।।४।।
हाहाकार भयो उसै बखतमा सन्तापले खेतमा
साना बालक थ्यौं अचेत जननी बैनी थिइन् पेटमा
स्वर्गारोहण भो जसै हजुरको जिम्मा लिएँ काँधमा
मेरा सामु कुनै विकल्प नहुँदा थामेँ हलो हातमा ।।५।।
आमाका रखबार इज्जत तथा सक्दो गरी चाकरी
छोडी देश पराइका मुलुकमा हो बेचिएको सरी
आफ्नो धर्म गरेँ उजागर सबै जे भन्छ यी शास्त्रमा
सानो बालक पल्कियो समयमा नाता मिल्यो अश्वमा ।।६।।
मेरो भाग्य थिएन साथ रहने अल्पायुमा बित्नु भो
सम्झे हार हुने रहेछ भव यो बिर्सेर नै जित्नु भो
जेठो पुत्र भएँ पिता हजुरको गर्नेछु मै तर्पण
हे बाबा खुब याद गर्छ मनले श्रद्धाञ्जली अर्पण ।।७।।
- पैँञ्यु गाउँपालिका -४ पर्वत