मुक्तक -१
मायामा कुनै बन्धन भए, खुला गराइ हेर्नूपर्छ
मन-मुटु र मस्तिष्क नै, सङ्लो बनाई फेर्नुपर्छ
माया हुँदा के हुँदैन ? मायाबिना को रूँदैन ?
बित्थै हराउँदैन माया, बारले केलाई घेर्नुपर्छ ?
मुक्तक - २
झझल्को तिम्रै आउन थाल्छ, डाँडामा गुराँस फुल्दाखेरी
रेशमी कपाल सम्झिन्छु म, बेसीमा धानले झुल्दाखेरी
गैदिन्छ्यौ जति टाढा तिमी, भैदिन्छ्यौ उति गाढा तिमी
तिम्रै स्वरुप देखूँ सधै, बिहानी नजर खुल्दाखेरी ।
मुक्तक - ३
मन परेको कुरा भए, दिलभित्र सजाइदिन्छौ
होइन भने राम्रो पनि, नराम्रोसित दँजाइदिन्छौ
सारै अनौठो तिम्रो बानी, फाइदा भन्दा उस्तै हानी
थाहै नपाई कति कुरा, उल्टै बाह्र बजाइदिन्छौ ।
मुक्तक - ४
तिमीले जस्तो सक्दैन कोही, नजरको वाण हान्न सायद
बिजोडी भए तिमीबिना, सजिलै प्राण जान्न सायद
यसरी तान्यौ कि मोहनीमा, घाइते भएँ म पिरतीमा
तिम्लाई आफ्नो नबनाए, गाउँकै पानी खान्न सायद ।
मुक्तक -५
अलग्गिएका दिल नि फेरी, गाँसिए पो प्रीति हजुर
दु:ख भुलाई खुशीसित, हाँसिए पो प्रीति हजुर
संसारमै नमूना होस्, जस्लाई पनि सम्झना होस्
चखेवाको जोडी जस्तै,बाँचिए पो प्रीति हजुर ।
-गोम बिक्रम
कल्लाबारी, पाल्पा
२०७६ बैसाख २०