Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

मुक्तकका बारेमा संक्षिप्त चिनारी -गोम बिक्रम

मुक्तकका बारेमा संक्षिप्त चिनारी -गोम बिक्रम

नेप्लिज डायस्पोरा

२४, चैत्र २०७७
images
मुक्तकका बारेमा संक्षिप्त चिनारी -गोम बिक्रम

 

च्यात्तिएका किताबका नयाँ गाता जस्तै लाग्छ,
कहिलेकाही त गोरु बेचेका नाता जस्तै लाग्छ,
अप्ठ्यारोमा मात्रै सम्झिँदाखेरि हाम्रो सम्बन्ध,
पानी पर्दा मात्रै सम्झने त्यो छाता जस्तै लाग्छ ।

- एस.पि.असफल (स्याङ्जा)


अहिले साहित्यमा निकै लोकप्रियता कमाएको मुक्तक कविताको उपविधा मानिन्छ । मुक्तक खासमा संस्कृत शब्द हो । संस्कृत काव्य परम्परामा अग्नि पुराण तथा वेदमा मुक्तक साहित्यको चर्चा भएको छ। तिनमा ईश्वरिय प्रार्थना र उपासनाका निमित्त थुप्रै मुक्तकहरु प्रयोग गरिएका छन् । शाब्दिक अर्थ केलाउने हो भने संस्कृतको 'मुच्' धातुमा 'कृत'(त) प्रत्यय जोडिएर मुक्त बनेको छ। त्यसैमा कन् अनुसर्ग जोडिएपछि मुक्तक बनेको छ । अर्थात् 'मुच्' + 'कृत' (त)= मुक्त (स्वतन्त्र) 'मुक्त' + 'कन्' (अनुसर्ग)= मुक्तक। जसको अर्थ बन्धन रहित वा स्वतन्त्र भन्ने हुन्छ ।

कविताको लघुत्तम अायाम जुन आफैमा पूर्ण, पूर्वापर प्रसंगमुक्त स्वायत्त रचना हो । जसले चोटिलो भाव प्रकट गरिरहेको हुन्छ । त्यसैगरी मुक्तक छन्दविधानबाट पनि मुक्त रहेको विधा मानिन्छ ।

छातीमा शिशाका गोली पचाउन सक्नुपर्छ
वैरीलाई पनि इशारामा नचाउन सक्नुपर्छ
वीर गोर्खाली भनेर गर्वले चिनिनु छ भने,
आफू मरेर नि देशलाई बचाउन सक्नुपर्छ ।

- मनिषा राई कार्की
(नुवाकोट)

राष्ट्रभाव झल्काउने यो मुक्तक अाफैमा पूर्णमात्र नभई मार्मिक शैलीमा देशभक्तिको खँदिलो वर्णन गरेको छ । यसले कुनै अन्य रचनाको सहायतामा पूर्णता खोजेको छैन । मुक्तक खासमा कविता विधाको सबैभन्दा लघुत्तम रुप भइकन जीवन र जगतका यावत यथार्थहरुलाई सुत्रात्मक प्रस्तुति दिएको हुन्छ । विचार,भाव र व्यङ्ग्य गुणयुक्त भई अाफैमा स्वतन्त्र, पूर्ण र भाव चमत्कृत गर्ने विधा हो ।

पद्यात्मक, लयबद्ध हुनुको साथै खँदिलो र पेचिलो अभिव्यक्ति पस्किएको हुन्छ । झट्ट हेर्दा चिटिक्क मिलेकोआयताकार ,समान लम्बाईका हरफ हुनु राम्रो मानिन्छ । कुनै मुक्तक कुनै खास एक बिषयमा मात्र बोलेको हुनुपर्छ । ती हरफहरु एकापसमा अन्तरसम्बन्धित हुनुपर्छ ।

रुबाई र मुक्तकमा भिन्नता छ । रुबाई छन्द र बहरमा आबद्भ हुन्छ ।

जसले व्यक्तिको व्यक्तिगत सुख-दु:ख, प्रेम, भावलाई विद्रोहमा रुँदा अात्माबाट स्तस्फूर्त रुपमा निस्किएको रोदनको 'रो' बाट 'रुलाई' हुँदै 'रुवाई' भएको मानिन्छ । मुक्तक बिश्वका नेपाली भाषीहरु रहेको ठाउँहरु नेपाल, भारत सिक्किम, भुटान,म्यानमार, अमेरिका लगायतका देशहरूमा व्यापक रूपमा लेखिदै आएको छ ।


कुर्सी पाएपछि त यहाँ सबै कुरा मेल भयो
राजनीतिमा अचेल क्या गजबको खेल भयो
लोकतन्त्र ल्याउनलाई कति यहाँ सहिद भए
तिनै शहिदको सपना आज यहाँ फेल भयो

- कृष्ण पहारी ( पाल्पा )

यसका चार हरफ मध्ये पहिलोले अभिव्यक्तिको उठान, दोश्रोले समर्थन वा विकास, तेश्रोले कौतुहलता उत्पन्न गर्दै उत्कर्ष तथा चौथोले नाटकीय र चोटिलो पारामा झटारो हानेर पूर्णता, निचोड दिने काम गरेको हुन्छ । अंतिम हरफले ठोस कुरा, लेखकीय सार वा कथ्य कुरा समेटेको हुन्छ ।

चारवटै हरफमा अनुप्रास वा तुकबन्दी मिलाइने ढाँचा संस्कृत मुक्तक हुन भने पहिलो, दोश्रो र चौथोमा अनुप्रास मिलाइने ढाँचा फारसी रुबाइ ढाँचाका हुन् ।

फिट जेराल्डले फारसी कवि उमर खैय्यामका रुवाइयातलाई अंग्रेजीमा अनुवाद गरेपछि यही शैली विश्वव्यापी बन्न पुगेको मानिन्छ ।

When you were born I happened to be there

You’re so tiny I didn’t know, how to take care

The first time, I saw the smile of your mother

I’ve found her ready, to make everything fair!!

- मनोज सिलवाल,
(काठमाण्डौ)

नेपाल मुक्तक प्रतिष्ठान २०७० माघ १६ को पोखरा घोषणा पत्रले पनि एकरुपताका लागि यही चतुष्पदीय संरचनालाई स्विकार गरेको छ । मुक्तक निकै छोटा र निकै लामा भन्दा पनि अायताकार ढाँचाको २०/२२ अक्षरको समान वितरण भएकालाई उत्तम मान्ने गरिन्छ ।

मुक्तक कति प्रकारका हुन्छन भन्ने बिषयमा विद्वानहरुबिच मतैक्यता पाउन सकिँदैन । संस्कृतका अाचार्य दण्डीले ३, आनन्दबर्धनले ६, विश्वनाथले ७ राजशेखरले ५ तथा नेपाली समालोचक यज्ञराज सत्यालले बिषयवस्तुका अाधारमा ११ भेदमा बर्गीकरण गरेको पाइन्छ । यसरी मुक्तकको भेदलाई उल्लेख गर्ने खास अाधारहरु धेरै हुने हुँदा तिनमा थप अध्ययन हुनु जरुरी पनि छ । मुक्तकको संरचनामा खासगरी बिषयवस्तुमा बिषय, विचार, भाव रहन्छन् ।

त्यसैगरी यिनमा लय विधान पनि रहेको हुन्छ । लयले मुक्तकमा श्रुतिरम्यता उत्पन्न गर्दछ । उचित शब्द, वर्णको वितरणसँगै गति, यति र लयका आधारमा वाचन मीठो हुन्छ ।

मायाले खुशी हरेका बेला
नूनिला आँसु झरेका बेला
न आऊ भो झकझकाउन
भुलेर निँदमा परेका बेला ।

- हरि प्रसाद पौडेल


त्यसैगरी मुक्तकमा कलात्मकता दिनका लागि, भाषाशैली, बिम्ब, प्रतीक र अलङ्कारहरुको समुचित प्रयो‍ग पनि गरिन्छ । प्रतीक खासमा सांकेतिक चिन्ह हो जसले ध्वन्यात्मक (लाक्षणिक तथा व्यन्जनात्मक) अर्थमा अनुपस्थित बिषयको सट्टामा सन्दर्भअनुसार खास कुरा अभिव्यक्त गरिरहेको हुन्छ जुन शाब्दिक अर्थभन्दा फरक, व्यापक र प्रभावशाली हुनसक्छ ।

सोझैभन्दा मिठास नअाउने हुँदा घुमाएर भन्दा कलात्मक र काव्यात्मक आकर्षण हुने हुँदा प्रतीकहरु रोजिन्छ ।

मुक्तक

पहिले माया फूल थियो, ऐले मुटुको काँडो‍ भयो
सुन्दर लाग्ने तिम्रो साथ, ऐले बेकार घाँडो भयो
मायामा रम्न नजानेर, खुशीले चल्न नमानेर
चाहिँदाको भाँडो अनि, नचाहिँदाको ठाँडो भयो ।

- गोम बिक्रम ( पाल्पा )

यहाँ काँडो, घाँडो र ठाँडोले मीठो तुकको मात्र गरेका छैनन् बिम्बको काम पनि गरेका छन् । जीवन र जगतको विभिन्न सन्दर्भ, बिषय र सामाग्रीबाट बिम्ब र अलङ्कार बन्छन । सर्जकको कल्पनाद्वारा निर्मित यस्तो मानसिक छवि वा शब्दचित्र जसले भावलाई कलात्मकता दिई चमत्कारिक अर्थ प्रदान गर्दछन् ।

गिद्धले सयकडौ फिट माथिबाट सिनो मात्र हेर्छ
छेपारोले छिन-छिनमा आफ्नो असली रंग फेर्छ
आँसु झार्छ गोहीले शिकार खाइसकेपछि
हाम्रा महान नेताको सत्ता स्वार्थले यी तिनवटै बेर्छ !!

- बैद्यनाथ ठाकुर (बीरगन्ज)

यहाँ नेतालाई गिद्ध, छेपारो, गोही अादि सबै चरित्र समेटिने भनी सशक्त बिम्बात्मक प्रहार गरिएको छ । यस्ता बिम्बहरु सन्दर्भ अनुसार पौराणिक, ऐतिहासिक, साँस्कृतिक, सामाजिक जे पनि हुनसक्छन् । यिनले सिर्जनालाई वजन, उचाइ, सघनता र तीब्रता थपिदिएर अझ कलात्मक, आकर्षक र हृदयसंवेद्य बनाउने गर्दछ ।

त्यसैगरी मुक्तकमा सौन्दर्य अभिवृद्धिका लागि अलङ्कार प्रयोग गरिन्छ । यसबाट सिर्जनामा विचित्रता, कलात्मकता र चमत्कारिताको प्रस्फुटन हुन्छ । सिर्जनाको अान्तरिक तथा बाह्य सुन्दरताको लागि अलङ्कारको जरुरी हुन्छ ।

यस्ता अलङ्कारहरु निम्न दुई प्रकारका छन् :- (१) शब्दालङ्कार - बाह्य सुन्दरताको लागि (२) अर्थालङ्कार- आन्तरिक सुन्दरताको लागि ।

कतिपय विद्वानहरु बिम्ब र अलङ्कारलाई समधर्मी तत्व मानेका छन् । मुक्तकमा छाडापन व्यक्तिनु हुँदैन, जस्तो पायो त्यस्तो लेख्ने, गजलका दुई शेर जस्तो तथा कविताको श्लोक जस्तो हुनु हुँदैन । मुक्तक र रुबाई पनि फरक हुन । बरु बिन्दुमा सिन्धु अटाउने मुक्तक 'मुक्तक' नै हुनुपर्छ ।

२ सय ४० बर्ष अगाडी शक्तिबल्लभ अर्ज्यालको 'तनहुँ भकुण्डो'बाट भूमिका बनेर मोतिराम भट्ट, भानुभक्त अाचार्य हुँदै धेरै साहित्यकारहरुको कलमले तिखारिने मौका पाएको छ । र पनि, २०१० तिर भीमदर्शन रोकाबाट अाधुनितामा ढल्किएको मुक्तकलाई अहिलेको अबस्थासम्म ल्याइपुर्याउन भुपि शेरचन,कृष्णप्रसाद पराजुली, प्रकाश अाङ्देम्बे, रत्नशमशेर थापा, हरिभक्त कटुवाल, सरुभक्त, डा. मुरारी पराजुली, चेतन कार्की, राजेन्द्र थापा, यादव भट्टराई, रमेश पौडेल, वियोगी बुढाथोकी, घनश्याम परिश्रमी, खगेन्द्र गीरी 'कोपिला' रामकाजी कोने, कृष्ण बाउसे, भिम राना 'जिज्ञासु', उषा शेरचन लगायतका दर्जनौं साहित्यकारहरुको योगदानलाई भुल्न सकिँदैन ।

अस्तु !!

(यस लेखमा अधिकाँश मुक्तककारहरुका मुक्तक निजको फेसबुक प्रोफाइलबाट लिइएका हुन् ।)

कल्लाबारी, पाल्पा ।

(२०७५ भदौ २३ साभार : "पश्चिमी साहित्यिक आवाज")
(नेप्लिज डायस्पोरा मै प्रथम प्रकाशित मिति :फाल्गुण २२, २०७५ बुधवार - १९:४१:२६ बजे)

 

चर्चित कविता विमानस्थलमा बा ! अब भिडियोमा हेर्नुहोस।

images
प्रकाशित मिति :चैत्र २४, २०७७ मंगलवार - २०:५२:१२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend