मुक्तक - १
माता पिताको सेवा गरे पुग्छ
परिवारमा शान्ति छरे पुग्छ
ठूलो आश गर्दैनन् केवल
आँखाबाट आँसु नझरे पुग्छ ।
- दुर्लभ शाह त्यागी
मुक्तक - २
न भोक,न तिर्खा, न निन्द्रा, न कुनै थकान छैन
बाबु म उठ्न सक्दिनँ है भनेको कुनै बिहान छैन
सन्तानलाई यहाँ भन्दा धेरै माया अरू कसले गर्छ
हेर्नुस् संसारमा आमाभन्दा ठूलो कुनै भगवान छैन ।
- सिद्ध समर्पण
अछाम
मुक्तक -३
ज्ञानको यो सागर कहाँ, ऋषि र मुनी नभएको भए
म उभिन सक्ने थिइनँ यसरी, उनी नभएको भए
आमाका भेषमा साक्षात भगवान भेट्ने थिइनँ
धरतीको यो कुनामा मनुष्य जुनी नभएको भए ।
- राजन सिलवाल
काठमाण्डौ
मुक्तक -४
दुर्गा ,सीता ,शारदा वा बुझौं सत्यभामा
देवी स्वरुपका सबै जन्म दिने अामा
याे सृष्टिकै जन्मदातृ सन्तानमा साझा
एकै अावाज सम्मानको जय जय अामा ।
- शर्मिला कार्की 'शरु'
पर्वत
मुक्तक -५
भोक प्यास , घामपानी केही नभनी निमेक गरेर
सुन्दर सपनामा रमाउँछिन् खुन पसिना एक गरेर
आफ्ना हजार व्यथा भुल्न सक्ने आमा मात्रै हुन्
सन्तानको उज्वल भविष्यकोलागि अनेक गरेर ।
- सागर विभोर
बगनासकाली - ६ पाल्पा हाल : केन्या
मुक्तक -६
सृष्टिकर्ता जननीमा आदर, सम्मान बढाइयोस्
सबै आमाहरूलाई श्रद्धाका फूल चढाइयोस्
"नारी जाति संसारकै जननी हुन्,आदर गरौं"
भन्ने कुरा समाजमा बच्चैदेखि पढाइयोस् ।
- लक्ष्मी अच्युत ढुङ्गाना
मुक्तक - ७
कोही अनि केही पनि हुन्न धरतीमा आमा समान
आमाको सामु केही हुँदै हैन मन्दिर र भगवान
ईश्वर सबै ठाउँमा पुग्न नसकेरै आमा बनाए
आमा नै त हुन् यस धरतीमा ईश्वरको पहिचान ।
- सौरभ कारञ्जित
काठमाण्डौ, हाल : बेल्जियम
मुक्तक -८
धर्ती हौँ, आकाश हौँ, जून हौ, घाम हौ आमा
मेरो धड्कन हौ, सास हौ, प्यारो नाम हौ आमा
छैनौ बाहिरी दुनियाँमा हृदयमा बिराजमान छ्यौ,
संसारकै सबैभन्दा प्रिय र पवित्र धाम हौ आमा!
- मीना चौलागाई
पाँचखाल, काभ्रे
मुक्तक -९
हे जन्मदात्री धरतीकी साक्षात् देवी नै हाै आमा मेरी
स्वर्गका अप्सरा फितला ठान्छु आमा तिम्रै मुहार हेरी
दृष्टि दिने सत्मार्ग देखाउने निस्वार्थ प्रेमकी यी खानी
झुपडी दरबार तुल्याई सुख दिने हर घरकी हुन् रानी ।
- अम्बिका अर्याल
गोरखा
मुक्तक - १०
माता जननी आमा मदर माँ जुनसुकै नामले पुकार
आमा महान हुन्छिन सन्तान प्रेम हुन्छ उनमा अपार
न स्वार्थ कुनै न पाउने इच्छा नै राख्छिन सन्तानबाट
सुख सुविधा स्याहार सम्भार गर्ने गर्छिन दु:ख हजार
- एस. आर. मञ्जरी ओली
हेटौंडा
मुक्तक -११
आफैं भताभुङ्ग भए'नि परिवार समेल्नु परेको छ,
नियतिको कहरलाई हाँसी-हाँसी झेल्नुपरेको छ,
आमाको सेतो पहिरनलाई जिस्काएझैँ लागेपछि,
आफैंले रोपेको रातो गुलाफ उखेल्नु परेको छ ।
- एस.पि. असफल
फेदिखोला, स्याङ्जा
मुक्तक -१२
हजार दर्द र पीडा सहेर मलाई जन्मायौ आमा
सधैंभरी प्रेरणाको श्रोत बनी अघि बढायौ आमा
आफू पीडामा परे पनि सन्तानको बारेमा सोची
हरेक कठिनाइमा पलपल बाँच्न सिकायौ आमा ।
- सन्जिब राज जोशी
गुलरिया, कञ्चनपुर
मुक्तक - १३
सारा पीडा छातीभित्र लुकाउन सक्छिन् अामा
सन्तानका लागि मन फुकाउन सक्छिन् अामा
चाहे अाअाेस् जस्तोसुकै कठिन परिस्थिति
अाफ्नै शिर दाउ राखी झुकाउन सक्छिन् अामा।
- सावित्री अधिकारी
काठमाण्डौ
मुक्तक -१४
सम्झनाका गाँठाहरू ती सबै फोए आमा
शद्धा भक्ति अर्पण गरी पाउ छोए आमा
मातातीर्थ औंसीको दिन,यादमै भो मन लीन,
तिम्रो दिव्य त्यो काख सम्झी धेरै रोए आमा ।
- मीरा गजुरेल
तीनकुने, काठमाण्डौं।
मुक्तक -१५
कुनै सन्तानको यौवनपुष्पित देहलतामा मन बिचलित नहोस्
ऊनी सधैं पूजनीय छिन् देखावटी भावनामा व्यतीत नहोस्
भगवानको स्मरण गर्छु एक्कै छिन्, माता तीर्थ औशीको दिन
सबै जननीप्रति सन्तानको माया फेसबुकमा सिमित नहोस् ।
- हरि कंडेल
नवलपरासी
मुक्तक -१६
सारा दुनियाँकी सृष्टि हुन् आमा
सम्पूर्ण जीवन दृष्टि हुन् आमा
जननी उनी स्नेह ममताकी खानी
प्रेम वर्षाउने अति वृष्टि हुन् आमा ।
- लक्ष्मी रायमाझी खड्का
विराटनगर
मुक्तक - १७
बिहान बेलुकी घर धन्दा चुलोमा हुन्छिन् मेरि आमा
सिँगार्न घर करेसाबारी धुलोमा हुन्छिन् मेरि आमा
साँझ बिहान सन्तान आफू पालिन पसिना चुहाउँदै
दिनभर कठै खेतबारी कुलोमा हुन्छिन् मेरि आमा ।
-अन्जिता राउत
नेचा सल्यान -५ सोलुखुम्बु
मुक्तक -१८
जन्म दिई छोड़ी गयौ आमा भन्न नि पाइन
अरू झै ममताको झरीमा रम्न नि पाइन
नियतिले अहो कस्तो खेल खेलेछ मसँग,
राती सुत्दा तिम्रो मिठो लोरी सुन्न नि पाइन।
- नीता गुरूङ भाटिय़ा
गुवाहाटी, असम।
मुक्तक -१९
अपार हुन्छ आमाको माया, जिम्मेवारीले बेरिँदै गए
सुरक्षा उति भरोसा हुन्छ, त्यसैको घेरामा घेरिँदै गए
गर्नेको चाहना एक हुन्छ, नगर्नेको बाहना अनेक हुन्छ
आमाको दर्शन गर्न पनि, परम्परा अब फेरिँदै गए ।
✍ गोम बिक्रम
कल्लाबारी, पाल्पा ।
मुक्तक -२०
सन्तानले मुहार हेर्न पाएनन् आमाको
गुन्यु चोलाे पनि फेर्न पाएनन् आमाको
महामारी भित्र आयो माता तिर्थ औँशी
ममताले अँगालो बेर्न पाएनन् आमाको !
- सुमन शर्मा
मिजौरी, अमेरिका ।
संकलन : गोम विक्रम