दर्पण तिमिल्सिना
ओस्लो, नर्वे
एनआरएनए ( NRNA ), नर्वेको आयोजनामा "एभरेस्ट कप युरोप २०२१" फुटबल प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ। नर्वेजियन खेलकुद विद्यालयको खेल मैदानमा भएको फ़ाइनल खेलमा आयोजक एनआरएनए नर्वेले नेपाली पोर्चुगिज समाज नर्वे (नेपोस) लाई हराउदै उपाधी हात पारेको हो। बिजेता एनआरएनए नर्वेलाई ट्रफी संगै नगद १०,००० क्रोनर ( करिब १ लाख ३० हजार नेपाली), मेडल र प्रमाण-पत्र ले पुरस्कृत गरिएको थियो। साथै उपविजेता नेपोस नर्वे टिमले ६००० क्रोनर नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गरेको छ।
त्यस्तै योङ्ग ड्याड्स टिम अनुशासित टिमको रुपमा घोषणा भएको थियो । प्रतियोगितामा अधिक गोलकर्ता (७ गोल) नेस्को नर्वेका असिम खड्काले ट्रफी, ५०० क्रोनर नगद, मेडल र प्रमाण पत्र प्राप्त गर्नु भएको छ साथै बेस्ट प्लेयरको रुपमा एनआरएनए, नर्वे तपन कार्कीले ट्रफी, ५०० क्रोनर नगद, मेडल र प्रमाण पत्र प्राप्त गर्नु भएको छ।
खेलाडीको शारीरिक सुगठनको लागि मात्रै नभई प्रवासमा रहेका नेपाली माझ भाइचारा र आत्मियता बढाउन एनआरएनए, नर्वेले विगत केही बर्ष देखि निरन्तर प्रतियोगिता आयोजना गर्दै आएको छ। करिव ४०० बढी दर्शकहरुको उपस्थिती रहेको कार्यक्रमका खेलाडी र दर्शकलाई खाना र नास्ताको समेत व्यबस्था गरिएको कार्यकमका संयोजक सागर अर्यालले जानकारी दिनुभयो।
नर्वेको ओसमा दुर्घटनाका कारण मृत्यु भएका नेपाली स्वर्गीय कन्चन कार्कीको स्मृतिमा सन् २००९ बाट सुरु भएको फुटबल प्रतियोगितालाई सन् २०१३ बाट एनआरएनए नर्वेले 'एभरेस्ट रनिङ्ग कप' को नामले प्रत्येक बर्ष आयोजना गर्दै आएको छ।
तस्बिरहरु: सागर अर्याल