Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

साउने सक्रातिको सम्झना -नारायण अधिकारी

साउने सक्रातिको सम्झना -नारायण अधिकारी

नेप्लिज डायस्पोरा

२, श्रावण २०७८
images
साउने सक्रातिको सम्झना -नारायण अधिकारी


धेरै पुरानो कुरा त बिर्सेँ । तर जब जान्ने र सम्झिने भएँ - साउने सक्राती एउटा पर्व जस्तै मनाएको पाएँ।


बाले बिहान घाँस काट्न जाँदा भलायो, कुरिलो र शिरुको पात ल्याउनुभो ।अनि न्वाइ / ध्वाइ गरेर धुप, अक्षेता र फूलपाती ले पूजा गर्नुभो ।अनि घरको पालिमा घुसार्नुभो।


आज सक्राती - तिउरी लाउनी, भन्दै हामी छौँडा/ वाहान तिउरी उखेल्न थालेम । फूल तिउरी र लाउनी तिउरी फरक हुन्थ्यो। (हामिले मेहन्दी भन्ने सुनेका पनि थिएनम्, लाउने कुरा त परकैभयो )।


तिउरी ओइलाउन हालेर मगर काँची खोज्न खर्यान तिर गएम् - दुइटी दिदी र म भएर । मुसेखरिका गाँज समाउदै, साउने झुसिल्किरा र पूठाबाट धागो छोड्ने बूढिकिम्ला बाट जोगिँदै मगर काँची बट्याएम्।अब त्यसमा सुकेका माकुरा पनि मिसाएमा बेस्सरी लाग्छ भन्ने सुनेकाले खरले छाएको पालिउँदी जालो लाएको ठाउमा खोजेर भाटाले झिकेम्।


तिउरी, मगर्काँची र माकुराको खोस्टा मिसाएर बाहिरको ढुङ्गामा दिदिहरुले थिचेर गिल्टिको थालमा राख्नुभो । मलाइ अघोर आत्तुरी लाग्यो । कत्थेर रात पर्ला र हातभरी तिउरी लाएर भोलि राता हात देखाउँदै हिँड्न पाइएला झैँ भयो।


पर्यो, रात पर्यो।बाले तुलसिको मैह्रा नेर सानो कटेरो बनाउनु भो।
- हेर्, धुप / अक्षेता / कोइला र मासका गेडा ल्याहो त - भन्दै आमालाइ अह्राउनु भो।


- लौ, नौबेत के लाउनी हो ? भन्दै आमाले पाकेका आँप बोक्रैसित काटेर दुनामा राखिदिनु भो।बाले पूजा थाल्नुभो ।


- लौ परमेश्वर ! यहँका नाग, भयँर, भूत/ प्रेत, कुल देउता/ पित्री देउता, भैरन्थान, रम्भादेबी - परमेश्वर । रक्षा गर पर्मेश्वर ।लुतो/ पिलो/ घाउ / खटिरा / रोग, ब्याध केइ नलाउस परमेस्वर ।


- खै, तिन्टा औल्टा ले त !
हाम्ले आत्तुरी / पात्तुरी गर्दै चुलोमा बल्दै गरेका तिन्टा अगुल्टा थुतेर ल्याइदिएम्।बाले अगुल्टोलाइ पनि पूजा गर्नुभो।


- लुतो लैजा, पिलो लैजा, घाउ/ खटिरा, रोग ब्याध, अनिकाल लैजा - सहकाल ले ए ए, गह्रौं कोटे राजा - भन्दै, अगुल्टो रिँगाएर बारितिर हुत्याउनु भयो।( बा स्याङ्जाबाट आएकाले गह्रौं कोटे राजालाइ सम्झिनुहुन्थ्यो)


- एइ ! गोठओ धुरियाँ आगो झर्ला र घर / गोठ खरानी होला नि ! आमाले सजग पार्नुभो।
- हुन्न , हेरेओ छु ।


अब चाच्चाडै भात खाएर हामिले तिउरी लाउन थालेम्।मलाइ दिदिहरुले लाइदिनुभो- देब्रे हातमा मात्र ।पहिला हत्केलामा , अनि बूढी औँलो खुम्च्याएर त्यसमा र अन्तमा चार औंला खुम्च्याएर मुठी पार्न लगाइ तिउरिको लेदोले लपक्कै ढाकिदिनुभो।अन्तिममा गाभाको पातले ग्वाम्म बेरेर चिफ्लेको पटुवाले गाभा समेत नाडिमा बाँधिदिनुभो। आँफूहरुले पनि त्यस्तै गर्नुभो।


अब त्यो लुँडिजस्तो हात कसरी जोगाएर सुत्ने - आजका नेतालाइ सत्ता जोगाउन भन्दा गाह्रो भो मलाइ ।लुँडी फुक्न पनि भएन ,गाभाको पात चेतिन पनि भएन।


सुत्न गएँ, देब्रे हात जोगाउँदै ठड्याएर बिस्तारै सुतेँ। दिउँसो मगर काँची खोज्न खर्यान/ खर्यान छास्सिँदा अरालिका काँडाले कोतरेर र खरले पाछेर चिरा परेका ठाउँमा मगरकाँचिको अमिलो पसेर चहर्याउन थाल्यो ।चिरित/ चिरित गर्यो -टट्टायो।ओहो ! हग्न जाम् कि मुत्न जाम जस्तो भो। मेरा बाबै ! के गरि खप्ने हो ?


-यो लादि हुर्‍याइदिम् र काइदाले सुतम् कि , झैँ पनि भयो । फेरि -हैन खप्छु भो । भोलि रामु लगायत साथिहरुलाइ राता हात त देखाउन पर्यो नि - भनेर दाह्रा किटेर सुतेँ ।


दिनभरिको दगुरा / दगुर ले थाकेको हुनाले निदाएंछु ।बिहान बा उठेर - हरे राम / हरे राम गरेको सुनेर जागेँ।


- अंधेरै थियो , एसो छाम्छु त गाभाको पात चेतिएछ ।पाँचै औंला स्वतन्त्र ।तिउरिको लेदो ओछ्यानमा ।नारिमा बाँधेको पटुवा भने ज्यूँ का त्यूँ।
हत्त न पत्त उठेर बाहिर आएर हात हेरेँ ।ई बरै , हात त ।तिउरिले चुसेर च्याक्रुस्स ।
-आमाले तेल लाएर आगोमा सेक् , भन्नुभो ।त्यसै गरेँ।


उज्यालो भयो ।तिउरी भने टाटे / पाटे भएर ठिकै लागेछ ।धामा गरेको , गोता सहेको काम लागेछ - हाड हाँसिहाल्यो नि !
( तस्बिर : मनोज आचार्यको वालबाट)

images
प्रकाशित मिति :श्रावण २, २०७८ शनिवार - ०७:५३:५९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend