बाँदरहरु सुध्रन्नन्
हो,
बाँदरहरु घर बनाउँदैनन्
भत्काउनु र सक्काउनु यिनीहरुको धर्म हो
किनकी बनाउनु उनीहरुको पेशा होईन
चोर्नु र फोर्नु उनीहरुको पहिचान हो
ठाउँ फेर्नु, घेर्नु र नटेर्नु उनीहरुको अभियान हो
तर बाँदरहरु बेफ्वाँक बुद्धि नभएका हुन्छन्
दिमागको गुदी नभएका ‘लाल गुदद्वारवाला’ हुन्छन्।
वाँदरहरु हाड़ नाता भन्दैनन्
आफ्नै कुलमा वलात् गर्छन्
यिनीहरु हठात् लोभी, भोगी र ढोँगी हुन्छन्
मानसिक रुपमा रोगी हुन्छन्
लुतो कन्याउनु र आफूसंग नहिड्नेसंग भिड्ने
उनीहरुको सपथ हुन्छ
बाँदरहरुको शरीरमा उपियाँ र मनमा कपट हुन्छ।
बाँदरहरु स्वामीभक्त हुन्छन्
तर स्वामी शक्तिशाली हुनुपर्छ
शक्तिमा नभए खासै फरक पर्दैन
स्वामी वृद्ध भएर पनि फरक पर्दैन
तर समृद्ध हुनुपर्छ
स्वामी हितमा बाँदरहरु
पुच्छर जोड्न मात्र होईन
नितम्ब मोड्न पनि ओके भन्छन्
किनकी बाँदरतन्त्र उनीहरुका लागि
सबैभन्दा उत्तम व्यवस्था हो।
बाँदरहरु आदर गर्दैनन्
मात्र बदर गर्छन्,
आदर उनीहरुको शब्दकोषमा हुदैन
हेर्दा शक्तिशाली देखिएपनि बड़ो काँतर हुन्छन्
लौरो देखायो भने पुच्छर लुकाउँछन्
रुन्छन्, तर सुन्दैनन्
हेर्छन् तर गुन्दैनन्
किनकी बाँदरको अर्को नाम अनादर हो
यिनीहरु सुध्रन्नन्।