दर्पण तिमिल्सिना
ओस्लो, नर्वे
प्रवासी नेपाली एकता मन्च (ओएनयुएफ), नर्वेले आयोजना गरेको दोश्रो T-10 रनिङ शिल्ड क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । ओस्लोको क्रीन्सो खेल मैदानमा भएको फाइनल खेलमा नेप्सा नर्वेलाई ८२ रनले हराउदै नेस्को नर्वेले उपाधि उचालेको हो । बिजयी टिमले रनिङ कप, मेडल सहित नगद ४००० क्रोनर ( नेपाली करिब रु ५०,०००) हात पारेको छ । त्यसैगरी उप बिजेता नेप्सा नर्वेलाई २००० क्रोनर सहित मेडल र प्रमाणपत्र ले पुरस्कृत गरिएको थियो ।
निर्धारित १० ओभरको फाइनल गेममा नेस्कोले दिएको १७३ रनको लक्ष्य पछ्याउने क्रममा नेप्सा नर्वेले ४ विकेट गुमाउदै ९० रनमा समेटिन पुगेको थियो। नर्वेमा क्रियाशिल विभिन्न नेपाली संघसंस्थाका ७ समुहले सहभागिता जनाएको खेलमा उत्कृष्ट प्रदर्शन गरेका नेस्कोका अरुण अधिकारी म्यान अफ द सेरिज हुनु भएको थियो ।
ओएनयुएफका अध्यक्ष बिश्वास बजगाई ले प्रतियोगी टिमका क्याप्टेनलाई बल र ब्याट प्रदान गरि खेलको औपचारिक उद्घाटन भएको थियो । कार्यक्रममा करिब ३०० बढी नेपालीको उपस्थिति रहेको आयोजकले जनाएको छ ।
त्यसैगरी महिलाहरुको लागी घैटो फुटाउने कार्यक्रम खेलाइएको थियो । घैटो फुटाउने कार्यक्रममा सबैभन्दा कम समयमा आयोजक प्रवासी नेपाली एकता मन्चका खेलाडीले फुटाउन सफल भएका थिए । बिजेतालाई मेडल सहित २००० क्रोनर (नेपाली करिब रु २५,००० ) प्रदान गरिएको थियो भने रनर अप हुने जे एस एस नर्वेलाई १००० क्रोनरले पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा बालबालिकाको लागी तातो आलु खेल समेत खेलाइएको थियो । उक्त खेलमा आयुशी निरौला बिजेता तथा इभा चौलागाइ उप बिजेता हुनुभएको थियो।
पुरस्कार बितरण कार्यक्रम ओएनयुएफका अध्यक्ष बिश्वास बजगाईको सभापतित्व तथा एनआरएनए नर्वेका अध्यक्ष जीवन बहादुर शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बिजयी खेलाडी र टिमलाई पुरस्कार,मेडल तथा नगद वितरण गर्नु भएको थियो।
समापन कार्यक्रमको संचालन प्रकाश पौडेलले गर्नुभएको थियो भने ओएनएफयु समर स्पोर्ट्स २०२१ को संयोजन संस्थाका सचिब मनोज अधिकारीले गर्नुभएको थियो ।
तस्विरहरु- सागर अर्याल