Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

ज्यान हत्केलामा राखेर रेमिट्यान्स पठाउनेहरुलाई गाली नगर - सतिश चापागाई

ज्यान हत्केलामा राखेर रेमिट्यान्स पठाउनेहरुलाई गाली नगर - सतिश चापागाई

नेप्लिज डायस्पोरा

५, भाद्र २०७८
images
ज्यान हत्केलामा राखेर रेमिट्यान्स पठाउनेहरुलाई गाली नगर - सतिश चापागाई

 

नेप्लिज डायस्पोराको सम्पादन कक्षमा अरबबाट अचानक खबर आयो - सिन्धुपाल्चोकका अमित न्यौपानेको निधन भयो । खबर पठाउने तेजवहादुर थापालाई लेखें फोटो पठाईदिनु । समाचार बनाउदै गर्दा म सामान्य थिएँ । यस्ता समाचार आईरहन्छ गईरहन्छनको भावमा । जसै मैले फोटो अपलोड गरें, मेरो मुड़ अचानकै परिवर्तन भयो । मन अमिलो भयो । आखाबाट आँशु नै खस्यो ।

समाचार बनाउँदै गर्दा आँशु खसेको मेरो पत्रकारिताको जीवनमा यो पहिलो पटक हो ।

त्यो भाईलाई म चिन्दै चिन्दिन । समाचार एक पटक सरसर्ती पढेको मात्र छु । तर यस लक्का जवान युवाले यो उमेरमा खाडीको एउटा कम्पनीमा जुन मरण वरण गर्यो त्यसबाट म विक्षिप्त भएँ । मैले तेज़ जीलाई लेखें, “तेजजी यो भाईको समाचार पब्लिस गर्दैगर्दा मेरो आँखाबाट आँशु नै खस्यो । अझै कति यस्ता भाईहरु गुमाउनु पर्ने हो हामीले?” मैले फेरि लेखें, “आई एम भेरी सरी !”

"दाई मैले उनको घरमा बुबालाई फोन गरेर घटना बताएँ । बुबाले 'तिमी के भन्दैछौ बाबु, कसरी यस्तो भयो, हुन सक्दैन ।' भन्नुभयो । म भावविह्वल भएँ ।" तेज भाईले मसंग भन्नुभयो ।

छ महिना अगाडी कान्छो बुबाको जेठो छोरो, मेरो भाई अरुणले त्यहि अरबबाट संसार छोड्यो । त्यतिबेला मैले समाचार बनाउने फुर्सद र रुने सुबिधा पाईन । ३१ बर्षको भाई अरुण केही वर्षको अरब बसाई छाडेर सधैका लागी नेपाल आउदै थियो । आफ्नी जीवन संगिनीसंग फ़ोन गरेर भनेको रहेछ, “१५ दिनपछि सधैका लागी अरब छाड्दैछु । कम्पनीलाई जानकारी गराएँ, म्यानेजरले हुन्छ भनेको छ ।” भोलिपल्ट अरुण ढल्यो । ३१ बर्षको भाईलाई हामीले गुमायौं । त्यसपछि, सरकारी कागजातका अनेकन लंठा सकेर अरुणको पार्थिव शरीर उसले आउंछु भनेकै दिन घर पुग्यो ।

अरुण र अमित त प्रतिनिधि पात्र मात्र हुन् । बिना सोचेसम्झे बिदेशी भूमी यसरी ज्यान गुमाउने नेपालीको संख्या कति होला ? अनुमान पनि गर्न सकिदैन । कहाँबाट शुरु गर्ने? कहिलेबाट शुरु गर्ने ? हरेक दिन १५ सय नेपाली बाहिरिन्छन भन्ने तथ्यांक जगजाहेर छ । दैनिक ३ जना नेपाली काठको बाकसमा फर्किन्छन भन्ने तथ्यांक पनि सबैलाई थाहा छ । यी सबै तथ्यांकसंग देशको मिडिया र राजनीति लगायत सबै क्षेत्र जानकार छ । कर्मचारीतन्त्रले त यो तथ्यांकलाई पटक पटक ओल्टाई पल्टाई गरिरहन्छ ।

देश छोडेर जानुका आफ्नै समस्या हुन्छन । सत्य कुरा के हो भने, कोहि पनि मान्छे खुशी मनले अरब जादैन । अरब मात्र होइन कोहि पनि मान्छे खुशी मनले विदेश जादैन । बिकसित देशमा जानेका अलि फरक कारण होलान तर अरब पुग्ने सबै नेपालीका कारणहरु सारमा उस्तै उस्तै हुन्छन। जस्तै: पढ्ने बाटो बन्द भएपछी र पढ्दाखेरी लागेको खर्च तिर्न युवाहरु अरब पुगेका छन् । देशमा सेवा गर्ने अवसरको ढोका बन्द भएपछी युवाहरु अरब पुगेका छन् । बिहे गर्दा लागेको खर्च तिर्न र बिहेपछिका गहना र चाहना पुरा गर्न युवाहरु अरब पुगेका छन् । पाखो बारी मै उत्पादनशील काम गर्दागर्दै पनि हौशला र साथ नपाएका युवाहरु अरब लागेका हुन् । बिर्सन हुन्न, देशको माटोमा पसिना पोखेर उब्जेका उत्पादनले बजार नपाएपछि धेरै युवाहरु अरबमा पुगेका छन् ।

भन्नेहरु त भन्छन पसिना बगायो भने गाउँ मै सुन फल्छ । यो कुरा जति वास्तविक लाग्छ त्यति सत्य छैन । यो त खोलाको माछा र कागजको माछा जस्तै फरक कुरा हो । खोलाको माछा पो मारेपछि पोलेर खान सकिन्छ, कागजको माछा पोल्न थाल्यो भने के हुन्छ ? के खाने ?

गाउँमा गरिव र सोझा सिधाले के अवसर खोज्ने ? ऋण कसले दिन्छ ? विश्वास कसले गर्छ ? अवसर नै पो कति खुलेका छन् र ? अनि ती अवसरमा खरो उत्रन के के गर्नुपर्छ सबैलाई थाहा छ । मुखले फ्याट्टै भन्न सकिने देशप्रेम र राष्ट्रियता बोल्दा र सुन्दा जस्तो सजिलो छैन। संसारका धेरै देशमा राष्ट्रियता खोलाको माछाजस्तो छ। तपाई देशका लागि बाँच्न र मर्न सक्नुहुन्छ। ती देशहरुमा तपाई मरेर पनि बाँच्न सक्नुहुन्छ। तर हाम्रो देशमा तपाई बाँचेर पनि हरेकदिन जिउदै मरिरहनु परेको छ। त्यसैले, हाम्रो देशको राष्ट्रियता कागजको माछाजस्तो लाग्छ र युवाहरु विदेश पुग्छन ।

कसैलाई लाग्न पनि सक्छ यी विदेश जानेहरु सबै ठग र अल्छीहरु हुन् तर त्यसो होइन। असली ठग र अल्छिहरु त उनीहरुलाई विदेश पुर्याउने दलालहरु हुन्। उनीहरु त्यही गाउँ सहर मै डुलेका छन् ।यिनले अनेक जालसाजी गरेर, नक्कली सपना देखाएर युवाहरुलाई विदेश पुर्याएका छन् । एउटा युवाले काठमाडौँको दलालबाट सुनेको कुरो अरबको दलालसम्म पुग्दा आधा फरक पाउछ । ठग काठमाडौँमा छन् की अरबमा ? काठमाडौँमा हुँदा एउटा दलालसंग उसको पासपोर्ट हुन्छ, अरब पुग्दा अर्को दलालले उसको पासपोर्ट राखिदिन्छ । ठगहरु नेपाली हुन् कि बिदेशी ? निशन्देह: नेपालीहरुले नै नेपालीलाई ठगिरहेका छन् ।

प्रसंग ठग्नेहरुको होइन, यस बिषयमा अर्को लेखमा चर्चा गरौला । प्रसंग ठगिनेहरुको हो । यो लेखमा मैले कोट्याउन खोजेको बिषय अझै कति नेपालीले विदेश जानुपर्ने बाध्यता भोग्नु पर्ने भन्ने हो। मैले माथि भनेजस्तै किताबका माछा खाउ भन्ने शैलीको एउटा जमातको नेपालमा हालीमुहाली छ । जो बाबुबाजेको सम्पती वा उनीहरु कै सानको आडमा आफु सुखी छ र केहि अवसर पनि पाएको छ । उसको बोलि सुनिन्छ पनि । अनि फ्याट्टै भनिदिन्छ, "बिदेशमा ट्वाईलेट सफा गर्न हुने, देशमा काम गर्न नहुने !"

फेरी प्रश्न उठ्छ माछा त खाने तर कहाँको ? खोलामा माछा छ की छैन ? मतलव देशमा अवसर छ कि छैन ?

'बिदेशमा ट्वाईलेट सफा गर्न हुने, देशमा काम गर्न नहुने!' भन्नेहरुसंग एउटा सामान्य प्रश्न गर्न मन लाग्छ की त्यही ट्वाईलेट सफा गर्ने अवसर कति छ हाम्रो देशमा ? ट्वाईलेट सफा गरेर आफु र आफ्ना सपना पाल्न सकिन्छ की सकिन्न? ट्वाईलेट सफा गरेर निस्किदै गर्दा सम्मान मिल्छ कि अपमान ? हामीकहाँ ट्वाईलेट बनाउनु पर्छ भन्नेसम्मको चेत पलाईसकेको छैन । यिनै ट्वाईलेट सफा गर्नेहरुले पठाएको सोच र पैसाले नै त घरघरमा ट्वाईलेट बन्न लागेका हुन् भन्ने कुरा बिर्सन पाइन्छ र ?

फलत: नेपालको ग्रामिण भेगको हरेक घरबाट परिवारको कम्तिमा एक जना सदस्य विदेश गएका छन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले "देशका अधिकांस युवाहरुको सानो सपना अरब र ठुलो सपना अमेरिका छ" भनेर बेलाबेलामा भन्ने गरेका छन् । सत्य पनि यहि हो ।

राज्यको रुपान्तरणमा लागेको देशले युवा जमातको भावना र आवश्यकता बुझ्न नसक्दा अझै पनि आगामी पिढीको भबिश्य सुनिश्चित देखिएको छैन । देशमा बढ्दो युवा बेरोजगारीको बिकल्प खोज्नु, बिदेशिएका लाखौं नेपालीलाई देश फर्काउने योजना कोर्नु र बिदेशी मै जन्मेर हुर्किएको नेपाली रगतमा नेपालप्रेम भर्नेसम्मको दुरदृष्टि राख्ने बेला हो यो । यो राज्य 'रुपान्तरणको' बेला हो तर राज्य 'रुमल्लिईरहेको' आभाष विदेश बस्ने नेपालीलाई भईरहेको छ ।

गत बर्ष पुर्वप्रधानमन्त्रि बाबुराम भट्टराईसंग भिडियो अन्तरबार्ता गर्ने अवसर मिलेको बेला मैले उहाँलाई सोधेको थिएँ, "भट्टराई ज्यु, मलाई डिभी नपरेको भए म आज अरबमा हुन्थ्यें । रहरमा होइन बाध्यतामा विदेश जानुपर्ने स्थितिको कहिले अन्त्य हुन्छ?" भट्टराईले भन्नुभयो," स्वदेशी र बिदेशी पुँजी परिचालन गर्दै कृषिलाई आधुनिकीकरण, अर्थतन्त्रलाई औधोगीकिकरण गर्ने र नेपाललाई पर्यटनको केन्द्र बनाउने हो भने त्यो अवस्था छिट्टै आउँछ ।" भट्टराईको निचोड पनि त्यही थियो हामीले उपयुक्त नीति निर्माण गर्न सकेका छैनौं ।

संसारकै राम्रो हाम्रो संबिधानले जनताका धेरै अधिकारहरु सुरक्षित गरिसकेको छ । अब लेख्न बाँकी केहि छैन, देख्न बाँकी धेरै कुराहरु छन् । त्यसमध्येको पहिलो कुरा हो -संविधानको अक्षरश: पालना । अनि मात्र हामी समृद्धिको यात्रा तय गर्न सक्छम । अन्यथा, विदेशमा बसेर, ज्यान हत्केलामा राखेर, रेमिट्यान्स पठाउनेहरुलाई गाली गरेर मात्र देश बन्नेवाला छैन । राज्यको उचित रुपान्तरण भए मात्र अरुण र अमितले जस्तै अरु युवाले बिदेशमा अनाहकमा ज्यान गुमाउनु पर्ने छैन ।

 

 

 

 

images
प्रकाशित मिति :भाद्र ५, २०७८ शनिवार - ०४:१३:५४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend