यतिखेर डाँडाघरे साइला र साइलीको दोहोरी गीत खुब भाइरल छ ।
उसो त मलाई पनि मन पर्छ यो गीत । तर अहिले यो गीत सुन्दै गर्दा मैले लघुकथाको नायक डाँडाघरे साइलोलाई सम्झे ।
उतिखेर वैदेशिक रोजगारीमा ब्रिटिश र भारतीय सेनामा हुने सीमित भर्ती थियो । त्यसबाहेक गैरसैनिक रोजगारीका लागि भरतीय शहर दिल्ली, कलकत्ता र बम्बै मुख्य थिए । गैरसैनिक नोकरीलाई 'फाल्टुको नोकरी' भनिन्थ्यो ।
कथाको नायक डाँडाघरे साइला पनि तिनै शहरमध्ये कुनै एक शहरको कोठीमा काम गर्थ्यो । ऊ प्राय: हरेक बर्ष दशैंमा छुट्टीमा घर आउँथ्यो । यसरी नै आउने क्रममा एक पटक दशैंमा विदा नपाएकोले तिहारमा आयो । डाँडाघरे साइली तिहारमा माइत नगएर घरमै बसेकी थिइन् ।
साइलाले बाटोमा के खाएको थियो । भात खाएर सुत्ने बेलामा बान्ता भयो । बान्ता कालो कालो देखिन्थ्यो ।
भोलिपल्ट पधेंरामा साइलीलाई अरू छिमेकी महिलाहरूले जिस्काए । उनले, "आउन त आछन् तर हिजो बेलुका किन हो कालो बान्ता गरे, अहिले पनि टाउको दुख्या छ भनेर सुतिराछन् " भनिन् ।
खबर गाउँभरी फैलियो । विभिन्न प्रकारका हल्लाहरू चले:
-" डाँडाघरे साइलो हिजो दिल्लीबाट आएको एकदम कालो बान्ता गर्यो रे ।"
-" तीन चार दिन अगाडि डाँडाघरे साइलो दिल्लीबाट आएको मरेको काग पो वाक्यो रे ।"
साता दिनपछि त गाउँभरि नै हल्ला बुइँबुइँ भएछ, "डाँडाघरे साइलो एक हप्ता अघि दिल्लीबाट घर आएको जिम्दै काग वाकेको रे । कागलाई डोकाले थुनेर राखेको छ रे । काग हेर्न आउनेको रमितै घुइचों छ रे ।"
- लमजुङ्