मोबाइल बज्यो, फोन विमलको रहेछ ।
"थाहा पायौ रमेश बलरामदाइ त बित्नुभएछ नि ! काेभिडबाट "
"ओहो कहिले ?" विश्वासै गर्न नसकिने समाचारले स्तब्ध बनायो मलाई ।
"श्रद्धाञ्जलीका लागि कहाँ राख्ने भएछन् त ?" मैले हठात् सोधेँ । "कहाँको श्रद्धाञ्जली हुनु यस्तो बेलामा आर्मीले लाश जलाउँछ रे । साथीहरू कोही जाँदैनन् तिमी पनि नजाऊ । यस्तो बेलामा के खतरा मोल्नू ?" भन्दै विमलले फोन काटेपछि मैले पनि नजाने निधो गरेँ । जानु पनि कसरी लकडाउन छ, बाटामा पुलिसले भेटेभने सोधखोज गरेर चार घण्टा उभ्याउँछ । त्यसै माथी हिजैमात्र अञ्जुले बाइकको चाबी खोस्दै भनेकी थिइ ।
"अबदेखि दूध फलफूल लिन मै जान्छु । सुगर भएको मान्छेलाई कोरोनाले छोएपछि सारै पार्छ रे ! मैले भनेँ ठिकै छ नि सधैको कविगोष्ठी, विमोचन, सभासमारोह भागदौडबाट बल्ल छुट्टी पाइयो । गर्नुपर्ने अधुरा कामहरू कति छन् । अब यो लकडाउनभरि ती सबै काम पूरा गर्छु ।" "त्यही त भुइँमा खसेको निम्ता पनि टप्प टिपेर हिँड्नु हुन्थ्यो नि कविज्यू ! बल्ल ठिक्क पार्यो कोभिडले, अब कसैलाई घरमा बोलाउने पनि होइन । कतै जाने पनि होइन !"अञ्जुले सतर्क गराइ ।
" लु अब कतै नजाने । घरमै बस्ने आफ्नी प्यारीको अनुहार हेरेर ।" मैले अञ्जुलाई चुप बनाएको थिएँ ।
" के भनेर चाबी माग्नू ? होस् जान्न ।" मनमनै भनेँ । पैसठ्ठी वर्षको उमेरमा पनि नामजस्तै बलियो हुनुहुन्थ्यो बलराम दाइ । जे काममा पनि अघि सर्ने । सबैलाई सहयोग गर्ने । त्यत्रो ठूलो कवि भएर पनि एक थोपा घमण्ड थिएन वहाँमा । मलाई कवि बनाउनुमा वहाँको ठूलो योगदान रहेको छ । वहाँको प्रेरणा, प्रोत्साहन पाएर लेख्न थालेको कविताले मदन पुरस्कार पायो । त्यति मात्र नभएर जीवनका कष्टकर दिनमा आर्थिक सहयोग गरेर वहाँले मेरो निभ्न लागेको टुकीलाई नउकासिदिनुभएको भए आज मेरो छोरो आइ टि इञ्जिनियर हुने थिएन । दुई चार दिन भेट भएन भने कता छौ रमेश निस्ताएँ म भनेर कल गर्नु हुन्थ्यो । हरे शिव के भयो यस्तो ? यति प्रिय मान्छेलाई अब कहिल्यै भेट्न नपाउने भएँ । हात खुटा लुलो भएर भुइँमा थ्याच्च बसेँ ।
"के भयो ?" मलाई भुँइमा बसेको देखेर अञ्जुले सोधी । "बलराम दाइ कोभिड भएर बित्नुभएछ|" मैले भक्कानिँदै भनेँ ।
ओहो ! अञ्जु स्तब्ध भई । " यो कोभिडले पनि छानी छानी राम्रै मान्छेलाई लानेरहेछ ।" बर्बराउँदै माथी उक्लिइ ।
म आँखा चिम्म गरेर बसिरहेको थिएँ । " बाबा उठिस्यो ।" भन्दै । अञ्जु मेरो कपाल सुम्सुम्याइरहेकी थिई ! आँखा खोलेँ ।
"यी लिस्यो बाइकको चाबी । मास्क पञ्जा लगाएर टाढैबाट श्रद्धासुमन अर्पण गरेर फर्कने । जौं म पनि जान्छु ।" उसको हातमा भर्खरै टिपेको दुई थुँगा ताजा गुलाफ थियो ।
- काठमाण्डौ ।