यदी सचेत हुनुहुन्छ भने जान्नुहोस् यी आवश्यक पोषक तत्वबारे
पुरुषको तुलनामा महिलालाई धेरै प्रकारका पोषक तत्वको आवश्यक पर्ने विभिन्न स्वास्थ्य अनुसन्धानहरुले देखाएका छन् । महिलाको स्वास्थ्यका लागि मल्टिभिटामिन, खनिज तथा टे«स तत्वसहितका विशिष्ट पोषक तत्वहरु महत्वपूर्ण हुन्छन् । आउनुहोस् महिलाहरुको स्वास्थ्यमा सकारात्मक रुपमा प्रभावित पार्ने महत्वपूर्ण पोषक तत्वबारे जानकारी लिऔं ।
(नोटः तपाईहरुको जानकारी लागि हामीले विभिन्न स्वास्थ्यसम्बन्धी अनलाइनहरुबाट यो सामाग्री तयार पारेका हौँ । तपाईँले भिटामिन वा कुनै पनि औषधि सेवन गर्दा चिकित्सकको सल्लाह अनिवार्य लिनुहोला ।)
भिटामिन ए
यो भिटामिनले आँखा तथा छालाको स्वास्थ्य राम्रो बनाउँछ । शरिरको प्रतिरक्षा प्रणाली तथा प्रजनन् स्वास्थ्यमा पनि सहयोग गर्छ ।
भिटामिन डी
शरिरमा क्याल्सियम तथा फोस्फेटको मात्रा यस भिटामिनद्धारा रेगुलेट हुन्छ । मांसपेशि, दाँत तथा हड्डी राम्रो अवस्थामा राख्न भीटामिन डीको आवश्कता पर्छ ।
भिटामिन इ
यो भिटामिन छाला तथा कपालका लागि लाभदायक छ । हृदय तथा स्नायु प्रणालीको स्वास्थ्यमा पनि सुधार ल्याउँछ ।
भिटामिन के
रगत जम्ने (ब्लड क्लटिङ) तथा हड्डी समस्याबाट मुक्ति पाउनका लागि भिटामिन के पोषक तत्वको आवश्यकता हुन्छ । शरीरमा अन्य कार्यका लागि पनि यो भिटामिनले मद्यत गर्छ । भिटामिन केको कमीले हड्डीको शक्ति कमजोर हुनसक्छ ।
भिटामिन सी
यो भिटामिनले रोग प्रतिरोधात्मक क्षमता अर्थात इम्यून सिष्टमलाई बलियो बनाइराख्छ । यो सबैका लागि अति आवश्यक पोषक तत्व पनि हो ।
भिटामिन बी १
शरिर चलाउने ‘एटीपी’ ऊर्जा बनाउन भिटामिन बी १ ले मद्यत गर्छ । स्नायू कोशिकाहरुले सामान्य रुपमा काम गर्नसक्ने अवस्थाका लागि पनि यो भिटामिन आवश्यक हुन्छ । यो पोषकतत्व सबैका लागि महत्वपूर्ण मानिन्छ ।
भिटामिन बी २
कलेजो, छाला, मांसपेसिहरु, आँखा तथा स्नायु आदि स्वस्थ बनाइराख्न भिटामिन बी २ उपयुक्त हो । भ्रुणको विकासमा पनि यो भिटामिन सम्बन्धित छ ।
भिटामिन बी ६
यो भिटामिन खाद्य पदार्थ वा पूरक आहारबाट प्राप्त गर्न सकिन्छ । यसले मुडमा सुधार ल्याउन सक्छ भने डिप्रेसनका लक्षणमा कमी ल्याउँछ । मस्तिस्क (ब्रेन) स्वस्थ राख्न तथा हेमोग्लोबिन उत्पादनमा पनि प्रभावकारी हुन्छ । गर्भावस्थाका क्रममा वाकवाकी लाग्न समस्यामा पनि लाभदायक मान्एिको छ । यो भिटामिन आँखाको राम्रो स्वास्थ्य, छालाको स्वास्थ्य, रोगप्रतिरक्षा प्रणाली तथा प्रजनन् स्वास्थ्यमा पनि सहयोगी हुन्छ ।
भिटामिन बी १२
यो भिटामिनको प्रयोग कपाल, छाला तथा नङ्ग स्वस्थ राख्नका लागि राम्रो मानिन्छ । रातो रक्तकोशिका निर्माण तथा एनीमियाको रोकथाममा पनि मद्यत गर्दछ । यसले हड्डी, मांसपेशी, मस्तिष्क आदिको स्वास्थ्यमा पनि प्रभावकारी भूमिका खेल्छ ।
फोलिक एसिड
फोलिक एसिडका कारण हुने केही प्रकारका एनीमिया अर्थात् राता रक्तकोशिकाको कमीको उपचारका लागि फोलिक एसिडको प्रयोग गरिन्छ । यो पोषक तत्व विशेष रुपमा महिलाका लागि महत्वपूर्ण मानिन्छ । रजश्वलाका क्रममा रगतको कमीका कारण हुने एनीमिया रोक्न यसले मद्यत गर्छ ।
बायोटिन
बायोटिनको कमी गर्भावस्था, लामो समयसम्म ट्यूब फिडिङ, कुपोषण तथा तीब्ररुपमा तौल घट्नुसँग सम्बन्धित छ । यसको उपचार बायोटिन सप्लीमेन्टबाट गर्ने गरिन्छ । अर्कातर्फ बायोटिनले कपाल झर्न रोकथाम, छाला तथा नङ्ग स्वस्थ राख्न पनि भुीमका खेल्छ । त्यसैले बायोटिन महिलाको लागि एक आवश्यक पोषक तत्व मानिएको छ ।
क्याल्सियम
अस्टियोपोरोसिस वा हड्डी कमजोर हुनबाट रोकथामका लागि क्याल्सियम सप्लिमेन्ट उपयुक्त मानिन्छ । रजश्वलापछि महिलामा हर्मोन परिवर्तनका कारण हड्डीमा क्याल्सियमको कमी हुनजान्छ । रजश्वलापछि महिलाका लागि क्याल्सियमको प्रयोग उपयुक्त मानिएको छ ।
फास्फोरस
क्याल्सियमका साथसाथै फास्फोरसले हड्डी बलियो बनाउने मद्यत गर्छ ।
आयोडिन
आयोडिनले थायराइड स्वास्थ्यमा मद्यत गर्छ । आयोडिनले गर्भावस्थाका क्रममा न्यूरोडेवलपमेन्टमा पनि मद्यत गर्दछ । दिमाखको चालचलनको काममा पनि यसले सुधार गर्छ भने बच्चाको तौल सुधारमा समेत सहयोगी हुन्छ ।
आइरन
आइरनको कमीले हुने एनिमियाको विकास रोकेर तपाईलाई ऊर्जावान र स्वस्थ रहन आइरनले मद्यत गर्छ । रजश्वलाका क्रममा रगत बाहिरिने भएकाले रातो रक्तकोशिका उत्पादन गर्न आइरनले सहयोग गर्छ ।
मेग्नेसियम
इलेक्ट्रोलाइट सन्तुलन बनाउन मेग्नेसियमले मद्यत गर्छ । कम्पन महसुस हुने, मांसपेशिहरुमा ऐँठन हुने, भोक लाग्ने, व्यक्तित्व परिवर्तन हुने, आँखाको पुतली घुम्ने जस्ता समस्याको रोकथामका लागि पनि मेग्नेसियम उपयुक्त मानिन्छ । स्नायुप्रणाली स्वस्थ राख्न, डिप्रेसन, टाइप २ मधुमेय, माइग्रेन रोकथाम गर्न पनि लाभदायक हुन्छ ।
सेलेनियम
वृद्धि तथा प्रजनन्का लागि सेलेनियम उपयोगी हुन्छ । मांसपेशीहरुलाई स्वस्थ बनाइराख्न, मस्तिष्क, थाइराइड, फोक्सो तथा प्रतिरक्षा प्रणालीलाई स्वस्थ राख्नका लागि सेलेनियम पोषक तत्व उपयुक्त मानिन्छ ।
कपर
कमजोरी तथा थकानको उपचारमा कपर उपयुक्त हुन्छ । यसले छिटो छिटो विरामी हुनबाट बचाउँछ । हड्डी, नसा, आँखा स्वस्थ राख्ने काम गर्छ भने राता रक्तकोशिाकाहरुको उत्पादन गरी एनीमिया समस्या आउन नदिन पनि सहयोगी हुन्छ । मुटुलाई स्वस्थ राख्न र शरीरका मुख्य अङ्गहरुलाई स्वस्थ राख्न पनि सकारात्मक प्रभाव पार्दछ ।
जींक
प्रतिरक्षा क्षमता विकास, शारीरको विकास, पेटको स्वास्थ्य, यौन परिपक्वता, दृष्टि, छाला तथा मांसपेशिहरुको स्वास्थ्यमा सुधार गर्न जिंक उपयोगी हुन्छ । यो मुटुलाई स्वस्थ राख्न पनि आवश्यक हुन्छ भने यसबाट अनुहारमा देखिने डण्डिफोरमा पनि कमी आउनेछ ।